आज परशुराम जयन्ती मनाइँदै

268 पटक पढिएको

६ बैशाख २०८३, आईतवार ०८:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६ वैशाख । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा मानिने परशुराम ऋषिको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन जन्मनुभएका परशुरामलाई पौराणिक ग्रन्थहरूमा अष्टचिरञ्जीवीमध्येका एक मानिन्छ ।

शास्त्रअनुसार ऋषि जमदग्नि र माता रेणुकाका सुपुत्रका रूपमा परशुरामको जन्म भएको थियो । उहाँको जीवनका रोचक प्रसङ्गहरू पौराणिक ग्रन्थमा उल्लेख छन्, जसमध्ये पिताको आज्ञा पालन गर्न माता रेणुकाको हत्या गरेको र पछि पितासँगै वर मागेर उनलाई पुनर्जीवित गराएको घटना चर्चित छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, संसारमा अभिमानी क्षेत्रीयहरूको अत्याचार बढेपछि साधुहरूको रक्षा र दुर्जनहरूको विनाशका लागि भगवान् विष्णुले परशुरामको रूप धारण गर्नुभएको हो । आफ्नो पिता जमदग्निको हत्या भएपछि परशुरामले २१ पटक ब्रह्माण्ड घुमेर आततायीहरूको अन्त्य गरेको वर्णन पाइन्छ ।

आजको दिन श्रद्धालुहरूले परशुरामको पूजा–आराधना गर्दै उहाँको पराक्रम र पितृभक्तिको स्मरण गरिरहेका छन् । विशेषगरी सनातन धर्मावलम्बीहरूले यस दिनलाई सत्य र न्यायको रक्षाका लागि शक्ति सञ्चय गर्ने पर्वका रूपमा समेत लिने गर्दछन् ।