धादिङको सिद्धलेकमा चट्याङ लागेर घरमा आगलागी: लाखौँको धनमाल क्षति
204 पटक पढिएको
धादिङ, ६ वैशाख । धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३, बाहुनथोकमा आज साँझ भीषण वर्षासँगै परेको चट्याङका कारण एक घरमा आगलागी भएको छ। स्थानीय सुरेश थापाको घरमा करिब ५:०० बजेको समयमा आकाशबाट परेको चट्याङले घरमा ठुलो क्षति पुर्याएको हो।
चट्याङ परेलगत्तै घरमा आगो सल्किएको थियो, जसका कारण घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र अन्य महत्त्वपूर्ण धनमाल जलेर नष्ट भएको छ। स्थानीयवासीका अनुसार चट्याङ पर्दाको समयमा परिवारका सदस्यहरू घरमै भए पनि संयोगवश मानवीय क्षति भने हुन पाएन। सबै सदस्यहरू सुरक्षित रहन सफल भएका छन्।
वर्षाको समयमा परेको यो विपत्तिले थापा परिवारको वासस्थानमा गम्भीर क्षति पुगेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायलाई राहत र सहयोगका लागि आग्रह गरिएको छ।







