सिद्धलेकमा महिला स्वास्थ्य शिविर सम्पन्न: ३२० जनाको स्वास्थ्य परीक्षण
194 पटक पढिएको
धादिङ, ६ वैशाख । धादिङको सिद्धलेक गाउँपालिकामा महिलाहरूका लागि लक्षित एक वृहत् स्वास्थ्य सेवामूलक शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सिद्धलेक गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल धादिङको प्राविधिक सहयोगमा पालिकाका दुईवटा वडालाई लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा दुवै वडाका गरी जम्मा ३२० जना महिलाहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्। विशेषगरी महिलाहरूमा बढ्दो स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आयोजना गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि १६० जना महिलाको भिआइए जाँच गरिएको थियो। परीक्षणका क्रममा ३ जनामा ‘भिआइए पोजेटिभ’ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
त्यस्तै, पाठेघर खस्ने समस्याबाट पीडित १५ जना महिलालाई ‘रिङ प्रेसरी’ राख्ने सेवा प्रदान गरिएको छ भने २ जनामा फिस्टुलाको समस्या पहिचान भएको छ। शिविरमा स्वास्थ्य परीक्षणका क्रममा जटिलता देखिएका १५ जना बिरामीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा प्रेषण गरिएको छ।
शिविरमा सिद्धलेक गाउँपालिकाकै माटोमा हुर्किनुभएकी डा. लक्ष्मी श्रेष्ठसहित दुई जना विशेषज्ञ चिकित्सकहरू र पालिका स्वास्थ्य शाखा प्रमुखसहित १५ जना स्थानीय स्वास्थ्यकर्मीहरूको टोलीले प्राविधिक सेवा प्रदान गरेको थियो। आफ्नै ठाउँका चिकित्सकबाट सेवा पाउँदा स्थानीय महिलाहरू निकै खुसी देखिएका थिए।







