धादिङबेसीको पुछारबजारमा आगलागी: दमकल नआउँदा स्थानीय आक्रोसित
218 पटक पढिएको
धादिङ, ९ वैशाख । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका–३ पुछारबजार पशुपति मार्गमा बुधबार बिहान आगलागी भएको छ। स्थानीय एकबहादुर श्रेष्ठले बाख्रा र कुखुरा पालन गर्दै आएको जस्ताको छानो भएको घरमा अचानक आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार आगलागी आज बिहान करिब पौने ५ बजे सुरु भएको थियो। आगलागीमा परी १० वटा कुखुरा र १३ वटा हाँस जलेर नष्ट भएका छन् भने बाख्रा तथा कुखुरा राख्ने घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको पूर्ण मुचुल्का आएपछि मात्र क्षतिको यकिन विवरण खुल्ने प्रहरीले जनाएको छ।
आगलागी सुरु हुनासाथ स्थानीयले नीलकण्ठ नगरपालिकाको दमकल (वारुणयन्त्र) लाई खबर गरे पनि घटनास्थलमा दमकल नआएको भन्दै स्थानीयले तीव्र आक्रोस पोखेका छन्। नगरपालिकाको दमकल सधैँ तयारी अवस्थामा रहनुपर्नेमा आवश्यक परेको बेला ‘बिग्रेको’ वा ‘चालक छैन’ भनेर पन्छिने गरेको आरोप स्थानीयको छ। समयमै दमकल आएको भए क्षति कम हुन सक्ने उनीहरूले बताएका छन्।
दमकल नआए पनि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सक्रियतामा बिहान करिब साढे ५ बजे आगो नियन्त्रणमा लिइएको थियो। स्थानीयले तत्कालै आगो निभाउन तदारुकता देखाएका कारण बस्तीका अन्य घरहरूमा आगो फैलिन नपाई थप ठुलो मानवीय वा भौतिक क्षति हुनबाट जोगिएको छ।
नगरपालिकाले दमकल सेवा जस्तो अत्यावश्यक सुविधामा देखाएको लापरबाही प्रति अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा व्यापक आलोचना भइरहेको छ।








https://shorturl.fm/Oti7S