धादिङमा जातीय छुवाछुत मुद्दामा वडा सदस्यलाई १८ महिना कैद सजाँयको फैसला

442 पटक पढिएको

१० बैशाख २०८३, बिहीबार २०:५७ सम्पादक: धादिङ न्यूज

धादिङ, १० बैशाख  । धादिङ जिल्ला अदालतले जातीय विभेद तथा छुवाछुतको कसुरमा नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हीमबहादुर पाठकलाई जेल सजाय र जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश मनकुमारी जिएम वि.क.को इजलासले पाठकलाई १८ महिना कैद, १५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने ऐतिहासिक फैसला गरेको हो।

घटनाको विवरण अनुसार २०८२ साल असार १९ गते नीलकण्ठ नगरपालिका–१० स्थित खेतमा कुलोको पानी लगाउने विषयमा विवाद हुँदा वडा सदस्य पाठकले सोही स्थानका ३६ वर्षीय रामबहादुर विसुन्केलाई जातीय आधारमा अपमानजनक शब्द प्रयोग गरी विभेद गर्नुका साथै धम्की दिनुभएको थियो। आफूमाथि अन्याय भएको भन्दै पीडित विसुन्केले २०८२ भदौ १ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनुभएको थियो। उक्त उजुरीका आधारमा भदौ १९ गते जिल्ला अदालतमा भेदभाव तथा जातीय छुवाछुत मुद्दा दर्ता भएपछि आरोपित पाठकलाई भदौ २० गते अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ को दफा ३ र ४ अनुसार कसुर ठहर गर्दै अदालतले पाठकलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ। साथै निज सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले कानुन बमोजिम थप ५० प्रतिशत अर्थात् ६ महिना कैद र ५ हजार जरिवाना थप गरी कूल १८ महिना कैद सजाय तोकिएको हो। अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलका अनुसार कसुरदारबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश भएको छ। यो फैसलाले सामाजिक समानता र कानुनको सर्वोच्चतालाई थप बलियो बनाएको महसुस गरिएको छ।