माछापोखरीबाट हटाइए धादिङका बस
186 पटक पढिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभाबी पार्किङ र सडकबाटै यात्रु चढाउने प्रवृत्ति रोक्न चालेको कदम अन्ततः कार्यान्वयनमा आएको छ। लामो समयदेखि माछापोखरी क्षेत्रलाई केन्द्र बनाएर सडकबाटै सञ्चालन हुँदै आएका धादिङ र नुवाकोट गन्तव्यका बस तथा माइक्रोबसहरू शुक्रबारदेखि पूर्ण रूपमा हटाइएका छन्।
काठमाडौँ सडक खण्डमा हाल मण्डली यातायात (साविकको धादिङ यातायात), ग्रामीण सहकारी, ग्रामीण यातायात प्रा.लि. र सुनौलो भैरबी यातायात प्रा.लि.ले सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएका छन्। यीमध्ये मण्डली यातायातले आफ्नै निजी ग्यारेज र पार्किङको व्यवस्था गरी सेवा दिइरहेको भए पनि अन्य कम्पनीहरूको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ।
अन्य यातायात कम्पनीहरूले आफ्नै पार्किङ स्थल नहुँदा सडक छेउमै अनधिकृत रूपमा टिकट काउन्टर राख्ने र सडक किनारमै यात्रु चढाउने तथा ओराल्ने गर्दै आएका छन्। यसरी सडक किनारमै सवारी साधन पार्किङ गरिदिँदा सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको भन्दै यातायात व्यवसायीहरूले नै चिन्ता व्यक्त गरेका छन्। सडक अतिक्रमण गरी सञ्चालन गरिने यस्ता क्रियाकलापले समग्र यातायात प्रणालीलाई नै अस्तव्यस्त बनाएको व्यवसायीहरूको गुनासो छ।
यसअघि काठमाडौँ महानगरपालिकाको एकीकृत यातायात प्रणाली लागू गर्ने निर्देशनलाई धादिङतर्फका यातायात व्यवसायीले चरम अटेरी गर्दै आएका थिए। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समीक्षा बैठकले धादिङका यातायात कम्पनीहरूले सूचनाको पूर्ण अवज्ञा गरेको भन्दै अन्तिम तीन दिनको अल्टिमेटम जारी गरेको थियो। नुवाकोटका व्यवसायीहरू सुरुमै नियम पालना गर्न सहमत भए पनि धादिङका व्यवसायीले खुल्ला चुनौती दिएपछि महानगर प्रहरी र नेपाल प्रहरीले कडा कदम चाल्ने चेतावनी दिएको थियो।
सोही अल्टिमेटम र चेतावनीको परिणाम स्वरूप वैशाख ११ गते शुक्रबारदेखि लागू हुने गरी माछापोखरी क्षेत्रबाट अनियमित रूपमा सञ्चालन हुने सबै सवारीसाधनलाई नयाँ बसपार्कभित्रै व्यवस्थापन गरिएको छ। महानगरिय ट्राफिक प्रहरीका अनुसार ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क, नेपाल प्रहरी र महानगर प्रहरी बलको संयुक्त समन्वयमा माछापोखरी तथा बिजी मल आसपास सञ्चालनमा रहेका सबै टिकट काउन्टरहरू समेत हटाइएको छ।
नयाँ व्यवस्था अनुसार अब धादिङ र नुवाकोट जाने यात्रुहरूले अनिवार्य रूपमा गोंगबुस्थित नयाँ बसपार्कभित्रै गएर टिकट लिनुपर्नेछ। ७५० वटा सवारी साधन एकैपटक व्यवस्थापन गर्न सकिने १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालनमा छन्। बसपार्कभित्र मध्यम तथा छोटो दूरीका माइक्रो बसका लागि ९ घण्टासम्मको पार्किङ शुल्क २२० रुपैयाँ तोकिएको छ।
काठमाडौँबाट दैनिक बाहिरिने औसत ७०० सवारी साधनमध्ये करिब ५० प्रतिशतले सडकबाटै यात्रु चढाउँदा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको थियो। विशेषगरी माछापोखरी क्षेत्रमा धादिङका व्यवसायीको मनपरीले सडक सुरक्षामा चुनौती थपिएको भन्दै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले सडक अनुशासन पालना गराउन यो ठोस कदम चालिएको बताउनुभएको छ।
महानगरले अबदेखि सडकबाटै यात्रु चढाउने वा बसपार्क बाहिर अनधिकृत काउन्टर राख्ने जो कोहीलाई कडा कानुनी कारबाही गर्ने जनाएको छ। यो निर्णयसँगै माछापोखरी क्षेत्रको ट्राफिक चापमा उल्लेख्य सुधार आउने र यात्रुहरूले सुरक्षित रूपमा एकीकृत प्रणालीबाट यात्रा गर्न पाउने विश्वास गरिएको छ।








