गंगाजमुनामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न, स्वास्थ्य मन्त्रीद्वारा आधारभूत अस्पताल भवनको उद्घाटन

215 पटक पढिएको

१४ बैशाख २०८३, सोमबार ०६:५१ सम्पादक: धादिङ न्यूज

धादिङ, १४ बैशाख । धादिङको उत्तरी क्षेत्रमा अवस्थित गंगाजमुना गाउँपालिकामा एकैसाथ विभिन्न महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरू सम्पन्न भएका छन्। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यतामा गाउँपालिकाका विभिन्न स्थानमा एकीकृत स्वास्थ्य शिविर, अस्पताल भवन उद्घाटन तथा स्वास्थ्य केन्द्रको अनुगमन कार्य सम्पन्न भएको हो।

गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थित बुढाथुम स्वास्थ्य चौकीमा एकीकृत जनस्वास्थ्य तथा प्रवर्द्धन अभियान अन्तर्गत पोषण बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त शिविरबाट ५०८ जना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिएका छन्। शिविरमा विशेषगरी आमाबुवा, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको पोषण अवस्थाको जाँच, स्वास्थ्य परीक्षण र स्वास्थ्य सचेतनामूलक परामर्श प्रदान गरिएको थियो।

यसै क्रममा स्वास्थ्य मन्त्री थापाले गाउँपालिकाको वडा नम्बर ५ मा नवनिर्मित गंगाजमुना आधारभूत अस्पतालको नयाँ भवनको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो। उहाँले गाउँमै अस्पताल निर्माण हुनुले स्थानीयको उपचारमा सहजता आउने विश्वास व्यक्त गर्दै गुणस्तरीय सेवा विस्तारमा जोड दिनुभयो। सोही अवसरमा मन्त्री थापाले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको समेत वस्तुस्थितिबारे अनुगमन र निरीक्षण गर्नुभएको थियो।

कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाले धादिङ जिल्लामै स्थानीय तहमा चिकित्सक राखेर सेवा सुरु गर्ने पहिलो पालिका गंगाजमुना भएको जानकारी दिनुभयो। स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीका अनुसार गाउँपालिकाले २०७६ सालदेखि नै एमबीबीएस डाक्टरमार्फत निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। दुर्गम भेगमा आधारभूत अस्पतालको आफ्नै भवन बनेपछि अब सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अध्यक्ष लामाले बताउनुभयो।

वडा नम्बर ५ का अध्यक्ष कुमार बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार भएको भन्दै गाउँपालिकाले यस्ता स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।