नीलकण्ठ नगरपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान

184 पटक पढिएको

२३ जेष्ठ २०८३, शनिबार २१:०७ सम्पादक: धादिङ न्यूज

धादिङ । नीलकण्ठ नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष पनि नगद पुरस्कारसहित सम्मान गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) र आधारभूत तह  परीक्षामा उल्लेखनीय नतिजा ल्याउने शैक्षिक संस्थाहरू, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धालाई थप प्रोत्साहन दिएको हो।

नगरपालिकाले एसईई परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउन सफल दुई सामुदायिक विद्यालय भैरवी माध्यमिक विद्यालय र शंखादेवी माध्यमिक विद्यालय, ज्यामरुङलाई जनही चार लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। त्यस्तै कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने सात विद्यालयलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। सम्मानित विद्यालयहरूमा शंखादेवी मावि, महेन्द्रोदय आधारभूत विद्यालय, महेन्द्रोदय मावि, पाल्पा सामरीभञ्ज्याङ मावि, स्थानपती आवि, मनरुपी आवि तथा पञ्चकन्या मावि रहेका छन्।

कक्षा ८ को  परीक्षामा ४.० जीपीए प्राप्त गर्ने १२ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ। नीलकण्ठ बालमन्दिरका आदर्श अधिकारी, आर्सन रिजाल, जिया अधिकारी, मनोज थापा, सम्राट श्रेष्ठ र सौरभ सिंखडा सम्मानित भएका छन्। त्यसैगरी चिल्ड्रेनपार्ककी अमिज्ञा गुरुङ, न्यू धादिङ बोर्डिङका मुहमद सरिफ मिया र दीक्षा रिजाल, सुनगाभाकी अनुजा तामाङ तथा न्यू किबोका अंकित लम्साल र जेनिक राना पनि सम्मानित भएका छन्।

एसईई परीक्षामा ४.० जीपीए हासिल गर्ने पाँच जना विद्यार्थीलाई नगरपालिकाले जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ। नीलकण्ठ बालमन्दिरका विपिसा सुवेदी, दिप्सन छत्कुली, प्रशंसा गुरुङ र नविना श्रेष्ठ तथा न्यू किबोकी रोजिना चौलागाईंलाई उत्कृष्ट नतिजाका लागि सम्मान गरिएको हो।

यसैबीच नगरपालिकाले शतप्रतिशत नतिजा दिलाउन सफल विषयगत शिक्षकहरूलाई पनि सम्मान गरेको छ। एसईईतर्फ १११ जना र BLE तर्फ १९६ जना गरी कुल ३०७ जना शिक्षक सम्मानित भएका छन्। नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका गणित शिक्षक उत्तम भट्ट र अर्जुन सिंखडा विशेष रूपमा सम्मानित भएका छन्। उनीहरूले अध्यापन गराएको ऐच्छिक गणित विषयमा सहभागी १४६ जना विद्यार्थी नै सफल भएका थिए।

नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत प्रकाश दत्त भट्टले उत्कृष्ट कार्य गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्दै शिक्षामा गुणस्तर वृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन हुँदै आएको बताए। नगरपालिकाका अनुसार शिक्षा क्षेत्रमा सिर्जना भएको स्वस्थ प्रतिस्पर्धाले विद्यालयको शैक्षिक नतिजा सुधार गर्न तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।