जेन्जी आन्दोलनमा भीमफेदी कारागारबाट भागेका डाँका चोरीका प्रतिवादी धादिङमा पक्राउ
272 पटक पढिएको
धादिङवेशी, ६ असार । जेन्जी आन्दोलन’ को मौका छोपेर मकवानपुरको भिमफेदी कारागारबाट भागि फरार रहेका डाँका चोरी मुद्दाका मुख्य प्रतिवादी धादिङमा पुनः चोरीको ठूलो रकमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ती फरार प्रतिवादीसहित चोरी कार्यमा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. २ बैकुण्ठ बस्ने ३३ वर्षीय रुद्र मोक्तान, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ जरुङ बस्ने २१ वर्षीय अशोक तामाङ र सोही ठाउँका १९ वर्षीय उमेश तामाङ रहेका छन्।
प्रहरीका अनुसार गत असार ४ गते दिउँसो अन्दाजी १२:१५ बजे मकवानपुर कैलाश गाउँपालिका वडा नं. २ बैकुण्ठ बस्ने बुद्धराम मोक्तानको घरबाट नगद ६ लाख रुपैयाँ चोरी गरी रुद्र मोक्तान र उनको समूह फरार भएको थियो। उक्त घटनाबारे इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट सूचना प्राप्त भए लगतै धादिङ प्रहरीले आफ्नो क्षेत्रमा निगरानी कडा पारेको थियो। सोही क्रममा इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट खटिएको प्रहरी टोलीले असार ५ गते बेलुका अन्दाजी ५:०० बजे गजुरी गाउँपालिका वडा नं. ६ आदमघाट बजारस्थित किरान्चोकतर्फबाट आदमघाटतर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेको अवस्थामा ती तीनै जनालाई घेरा हाली पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका मध्ये मुख्य आरोपी रुद्र मोक्तानको साथबाट प्रहरीले ५ लाख ८० हजार ५४० रुपैयाँ नगद फेला पारेको छ। प्रहरीले उनीहरूको साथबाट ग ८ प ९३२१ र ना १७ प ४१७५ नम्बरका दुई थान मोटरसाइकल र ३ थान मोबाइल फोन समेत बरामद गरेको छ। पक्राउ परेपछि उनीहरूको अभिलेख जाँच गर्दा मुख्य आरोपी रुद्र मोक्तान यसअघि भिमफेदी कारागार मकवानपुरमा डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेकै अवस्थामा देशमा भएको जेन्जी आन्दोलनको क्रममा कारागारबाट भागि फरार भएको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालका अनुसार पक्राउ परेका रुद्र मोक्तानको आपराधिक इतिहास निकै लामो रहेको छ। उनी विरुद्ध यसअघि २०७६ साल चैतमा मकवानपुरकै एक ३९ वर्षीय पुरुषलाई गोली हानेर ज्यान मार्ने उद्योग गरेको मुद्दा दर्ता भएको थियो भने सोही महिना उनको गोठबाट ३ थान भरुवा बन्दुक बरामद भएपछि हातहतियार खरखजाना सम्बन्धी कसुरमा समेत अनुसन्धान भएको थियो। यसबाहेक उनी विरुद्ध २०८० साल कार्तिकमा इलाका प्रहरी कार्यालय पालुङ र २०८० साल मंसिरमा प्रहरी वृत्त थानकोट काठमाडौँमा समेत चोरी तथा डाँका सम्बन्धी मुद्दाहरू दर्ता भइसकेका छन्।
कानून बमोजिम पक्राउ परेका तीनै जना आरोपीहरूलाई उनीहरूको साथबाट बरामद गरिएका नगद, मोटरसाइकल र मोबाइलसहित आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि आज असार ६ गते नै इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।








https://shorturl.fm/0uhkb
https://is.gd/d7aUgB
https://shorturl.fm/znz9J
https://shorturl.fm/Mlen5
https://shorturl.fm/hLpdL