व्यावसायिक कृषि र आधुनिक प्रविधिले फेरिँदै धादिङका गाउँबस्ती : फानसेप आयोजनाले किसानको जीवनमा ल्यायो खुसी
200 पटक पढिएको
- केशव अधिकारी
धादिङ । परम्परागत निर्वाहमुखी खेतीमा सीमित रहेका धादिङ सिद्धलेक र गल्छीका किसानहरूको दैनिकीमा पछिल्लो समय उत्साहजनक परिवर्तन देखिन थालेको छ। सिद्धलेक र गल्छी गाउँपालिकामा सञ्चालित ‘खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप)’ ले ग्रामीण समुदायमा व्यावसायिक कृषि र पोषण सचेतनाको नयाँ लहर ल्याएपछि किसानहरूको जीवनशैलीमा गुणात्मक सुधार आएको हो। आयोजनाले प्रदान गरेका आधुनिक प्रविधि र सीपमार्फत किसानहरूले कम लगानी र सीमित जमिनबाटै मनग्य आम्दानी गर्न थालेका छन्, जसले गर्दा उनीहरूको घरायसी खर्चको जोहो गर्न निकै सहज भएको छ।
मंगलबार फानसेप आयोजना क्लस्टर एकाइ गोरखाका विज्ञहरूको टोलीले धादिङका विभिन्न स्थानमा पुगेर आयोजनाको प्रगतिबारे अनुगमन गरेको छ। स्थानीय कृषक समूह तथा पोषण समूहका सदस्यहरूसँग गरिएको प्रत्यक्ष अन्तरक्रियाका क्रममा किसानहरूले आयोजनाले आफूहरूलाई आत्मनिर्भर बनाएको अनुभव बाँडेका छन्। गल्छी गाउँपालिका–१ की गीता मगरका अनुसार, आयोजनाले सिकाएको सीपले पशुपालन व्यवसायलाई व्यावसायिक बनाएको छ। उहाँले भन्नुभयो, “पहिले बजार कहाँ खोज्ने र कसरी बेच्ने भन्ने पिरलो हुन्थ्यो, तर अहिले उत्पादन बढेसँगै बजारको पहुँच पनि सहज भएको छ। थोरै जमिन र थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सकिने रहेछ भन्ने आत्मविश्वास अहिले हामीमा पलाएको छ।”
त्यस्तै, सिद्धलेक गाउँपालिका–७ का राम गिरीले तरकारी खेतीमा आयोजनाको प्राविधिक सहयोगले ठूलो राहत मिलेको बताउनुभयो। विशेषगरी तरकारी संकलन केन्द्रको व्यवस्थाले गर्दा बिक्रीको समस्या हटेको र उचित मूल्य पाउन सहज भएको उहाँको भनाइ छ। पोषणका क्षेत्रमा पनि आयोजनाले उत्तिकै प्रभावकारी काम गरेको छ। सिद्धलेक–६ समिटारकी इन्दिरा पुलामी मगरले ‘हरेक बार खाना चार’ जस्ता कार्यक्रमले समुदायका महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार आएको बताउनुभयो।
आयोजनाको उद्देश्यबारे जानकारी दिँदै क्लस्टर प्रमुख होमनाथ लम्सालले ग्रामीण किसानको आवश्यकतालाई केन्द्रमा राखेरै कृषि पाठशाला र पोषण बगैँचाका कार्यक्रमहरू अघि बढाइएको बताउनुभयो। कृषि अधिकृतहरू संयम पण्डित र बलदेवसिंह महरका अनुसार, व्यावसायिक बाख्रापालन, कुखुरापालन र दुग्ध उत्पादनले ग्रामीण महिलाहरूको हातमा प्रत्यक्ष आम्दानी पुर्याएको छ।
नेपाल सरकार र आइ.डि.ए.बीच २०८० मंसिर १५ गते भएको सम्झौतामार्फत सुरु भएको यो परियोजना धादिङको सिद्धलेक, गल्छी तथा गोरखाका आरुघाट र सहिदलखन गरी ४ पालिकाका ३४ वटा वडाहरूमा सञ्चालित छ। जिएएफएसपीको २२ मिलियन अमेरिकी डलर लगानी रहेको यस आयोजनाको अवधि २०८४ असारसम्म रहनेछ। कृषि मन्त्रालयको रेखदेखमा चलिरहेको यस कार्यक्रमले ५० हजार किसानलाई लाभान्वित गर्ने लक्ष्य राखेको छ, जसमा ६५ प्रतिशत महिला सहभागिता छ।
जलवायु अनुकूलन क्षमता बढाउने, कृषि उत्पादकत्व वृद्धि गर्ने र विशेष गरी साना किसानको पोषण स्थितिमा सुधार ल्याउने मुख्य ध्येय बोकेको फानसेप आयोजनाले अहिले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ। सुनौला हजार दिनका आमाहरू र बालबालिकाको स्वास्थ्यमा सुधारदेखि सहकारीको सवलीकरणसम्मका कार्यक्रमहरूले धादिङका किसानलाई अब व्यावसायिक कृषिको बाटोमा अगाडि बढाएको छ।








https://shorturl.fm/2LmRf
https://shorturl.fm/4jhzz