धादिङ अस्पतालमा महामारी र रोग निगरानी सम्बन्धी अभिमुखीकरण

132 पटक पढिएको

१३ असार २०८३, शनिबार ०६:२६ सम्पादक: धादिङ न्यूज

धादिङ, १३ असार । धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि आयोजित ‘अर्ली वार्निङ, अलर्ट एन्ड रेस्पोन्स सिस्टम’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ।

असार ११ र १२ गते अस्पतालका निमित्त अस्पताल निर्देशक डा. नवीन महासेठको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको हो।

सम्भावित प्रकोप तथा महामारीको प्रारम्भिक पहिचान, द्रुत रिपोर्टिङ र प्रभावकारी प्रतिकार्यलाई चुस्त बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य स्वास्थ्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

अभिमुखीकरणका क्रममा सहभागीहरूलाई  ‘अर्ली वार्निङ, अलर्ट एन्ड रेस्पोन्स सिस्टम’ प्रणालीको महत्त्व, रोग निगरानी  तथा रिपोर्टिङ प्रक्रिया, समयमै सूचना सम्प्रेषण गर्ने विधि र महामारी नियन्त्रणका लागि चालिने प्रतिकार्यका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै अस्पताल प्रशासनले यस अभिमुखीकरणबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको रोग निगरानी र संकटकालीन प्रतिकार्य क्षमतामा थप अभिवृद्धि भएको जनाएको छ। यसबाट अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाको गुणस्तर तथा प्रभावकारिता अझ सुदृढ हुने र सम्भावित स्वास्थ्य जोखिमलाई समयमै न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।