सुन्दरी माविको ५७औं अभिभावक भेला सम्पन्न: नयाँ विद्यालय व्यवस्थापन समिति गठन, विद्यार्थी सम्मान तथा शैक्षिक सामग्री वितरण
118 पटक पढिएको
सिद्धलेक (धादिङ), असार १९ । धादिङको सिद्धलेक गाउँपालिका–६ इर्जुस्थित सुन्दरी माध्यमिक विद्यालयको ५७औँ अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित विशेष भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन गर्नुका साथै विद्यार्थी सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम पनि सम्पन्न गरेको हो।
भेलाले सिद्धलेक गाउँपालिका–६ का वडाध्यक्ष सुरेन्द्र कुमार मगरको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक वातावरण सुधारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास विद्यालय परिवार र अभिभावकहरूले व्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप विद्यालय झोला, कापी, ज्योमेट्री बक्स लगायतका शैक्षिक सामग्री वितरण गरे। उनले बालबालिकालाई नियमित अध्ययन, अनुशासन र उज्ज्वल भविष्यतर्फ अग्रसर हुन प्रेरित गर्दै शिक्षामा गरिएको लगानी नै समाज विकासको आधार भएको बताए।
सोही अवसरमा विद्यालयबाट कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू तथा एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षातर्फ अघि बढेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि खतिवडा र नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मगरले सम्मानित विद्यार्थीहरूलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरे।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले शैक्षिक सुधार, गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।







