नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको २४औँ जिल्ला परिषद तथा सम्मान कार्यक्रम सम्पन्न
228 पटक पढिएको
धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको २४औँ जिल्ला परिषद तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिवार धादिङबेसीमा आयोजित विशेष समारोहमा सहभागी वक्ताहरूले मुलुकमा भएका सकारात्मक राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार र शिक्षकका पेशागत हकहितका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा शिक्षक आन्दोलन, शिक्षा नीति, सूचना प्रवाह, मानवअधिकार तथा लोकतन्त्रका विविध आयाममाथि चर्चा गर्दै शिक्षा प्रणालीलाई समयानुकूल, वैज्ञानिक, सीपमूलक र व्यवहारिक बनाउन संगठनले अझ प्रगतिशील भूमिका खेल्नुपर्ने धारणा राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव प्रकाश खनालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकको भूमिका थप प्रभावकारी र जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र परिणाममुखी बनाउन शिक्षक, अभिभावक तथा समुदायबीच त्रिकोणात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यस्तै, संगठनका केन्द्रीय सदस्य एवं नेपाल शिक्षक महासंघ धादिङका अध्यक्ष ठानप्रसाद बसौलाले शिक्षक आन्दोलनले विगतदेखि शिक्षा र लोकतन्त्रको रक्षाका पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गराउँदै शिक्षकका हकहित र शैक्षिक सुधारलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो।

जिल्ला अध्यक्ष हरि सिलवालको अध्यक्षतामा सम्पन्न सोही कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यालय र विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। जसअन्तर्गत यस वर्षको SEE मा सर्वोच्च ‘४ जीपीए’ प्राप्त गर्ने नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीहरू विपिसा सुवेदी, नविना श्रेष्ठ, दिप्सन छत्कुली र प्रशंसा गुरुङ सम्मानित हुनुभएको छ। यसैगरी उत्कृष्ट अंक ल्याउने आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरू आइन्स्टाइन पाण्डे र अनिरुद्र सिंह बस्नेतलाई समेत कार्यक्रममा सम्मान गरिएको छ।

विद्यार्थीहरूसँगै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै जिल्लाकै साख जोगाउन सफल भएकोमा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयलाई संस्थागत रूपमा समेत सम्मान गरिएको आयोजकले जनाएको छ। जिल्लाभरका शिक्षक प्रतिनिधि, शैक्षिक व्यक्तित्व तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको समयानुकूल रूपान्तरणका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए।







