धादिङ गंगाजमुना- ४मा छोराको धारिलो हतियार प्रहारबाट बुबाको मृत्यु
141 पटक पढिएको
धादिङ, २१ असार । धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ४ धर्गाचोक यार्चामा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजेको समयमा भएको उक्त पारिवारिक घटनामा परी ६४ वर्षीय धनबहादुर सुनारको ज्यान गएको हो ।
पारिवारिक विवादका क्रममा ३० वर्षीय छोरा सुजन सुनारले आफ्नै बुबा धनबहादुरमाथि धारिलो हतियार प्रहार गरेका थिए । स्थानीयका अनुसार हतियार प्रहार गर्ने सुजन सुनार केही समयदेखि मानसिक रोगबाट पीडित भई उपचार गराइरहेका व्यक्ति हुन् ।
घटना हुँदाको समयमा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा स्थानीय क्षेत्रकै अनुगमनमा व्यस्त रहनुभएको थियो । अनुगमनबाट फर्कने क्रममा धर्गाचोक यार्चामा स्थानीय बासिन्दाहरूको ठूलो भीडभाड र होहल्ला देखेपछि उहाँ घटनास्थल पुग्नुभएको थियो ।
उपाध्यक्ष सिंखडाका अनुसार घटनालगत्तै जुर्मुराएका स्थानीय बासिन्दाहरूले हतियार प्रहार गर्ने सुजन सुनारलाई तत्कालै नियन्त्रणमा लिएर डोरीले बाँधी सुरक्षित राखेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भई छटपटाइरहेका धनबहादुर सुनारलाई गाउँपालिका उपाध्यक्ष र स्थानीयको सक्रियतामा तत्कालै उपचारका लागि फुलखर्क प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) पुर्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे स्थानीय र जनप्रतिनिधिमार्फत जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले हतियार प्रहार गर्ने सुजनलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरेको छ ।
घटना मानसिक सन्तुलन ठीक नभएकै कारण आवेशमा आएर भएको हो या अन्य कुनै घरायसी विवाद थियो भन्नेबारे प्रहरीले गम्भीरतापूर्वक थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।







