मनसुन सुरु भएसँगै डेङ्गीको जोखिम उच्च: सतर्कता अपनाउन महाशाखाको अपिल
147 पटक पढिएको
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भई नियमित पानी पर्न थालेसँगै डेङ्गी सङ्क्रमणको जोखिम तीव्र रूपमा बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले वर्षाको समयमा डेङ्गीको प्रकोप भयावह हुन सक्ने भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार लगातारको वर्षाका कारण विभिन्न स्थानमा पानी जम्ने र त्यसमा डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा महामारीको जोखिम बढेको हो । हालै परेको पानीका कारण डेङ्गी सङ्क्रमणको खतरा थप बढेको औँल्याउँदै डा. दाहालले आकासे पानी जम्मा हुँदा त्यसमा डेङ्गी फैलाउने लामखुट्टेका लार्भा विकास हुने र तिनै वयस्क लामखुट्टेको टोकाइबाट रोग सर्ने बताउनुभयो ।
नेपालमा सामान्यतः असारदेखि कात्तिकसम्मको अवधिलाई डेङ्गी सङ्क्रमणको मुख्य सिजन मानिने गरिन्छ । तथ्याङ्क अनुसार गत असार ९ गतेदेखि १५ गतेसम्म मात्रै देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । अहिले दैनिकजसो वर्षा भइरहेकाले सडक, कार्यथलो तथा घर वरपरका खाल्डाखुल्डी, पुराना टायर, गमला र भाँडाकुँडामा पानी जम्न सक्ने र त्यहाँ लामखुट्टेको प्रजनन् प्रक्रिया तीव्र हुने महाशाखाले जनाएको छ ।
स्वास्थ्यविज्ञहरूका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्ने गर्दछन् र ती फुलबाट निस्किएका लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । यसको रोकथामका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी रहेको डा. दाहालले बताउनुभयो । डेङ्गीको प्रकोपबाट बच्न घर र कार्यालय वरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला अनिवार्य रूपमा झुलको प्रयोग गर्ने तथा शरीर ढाकिने लुगा लगाउने जस्ता उपाय अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।







