धादिङको जोगिमारामा ७८ हजार ४०० क्याप्सुल प्रतिबन्धित ट्रामाडोलसहित दुई जना पक्राउ

102 पटक पढिएको

२३ असार २०८३, मंगलवार १९:२० सम्पादक: धादिङ न्यूज

धादिङ, २३ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ जोगिमारास्थित पृथ्वीलोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। वीरगंजबाट बनेपातर्फ जाँदै गरेको यात्रुवाहक बसबाट ७८ हजार ४०० क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामा हाइड्रोक्लोराइड (५० एमजी) सहित उनीहरूलाई पक्राउ गरिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी जोगिमाराबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३-००१ ख २६८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो। बसमा सवार यात्रुहरूको साथमा रहेको एउटा सुटकेस र दुईवटा जेब्रा झोला भित्र रबरले बेरेर पोका बनाई लुकाइराखेको अवस्थामा ७ हजार ८४० स्ट्रिप (प्रति स्ट्रिप १० क्याप्सुलका दरले) ट्रामा क्याप्सुल फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार  पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने ४१ वर्षीय मोहन प्रसाद कुर्मी र सोही स्थान बस्ने ३५ वर्षीया प्रतिमा देविरहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषधका साथै २ थान मोबाइल समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जना विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसूरमा इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई थप अनुसन्धान र म्याद थपका लागि आजै धादिङ जिल्ला अदालतमा पेश गरिने र घटनाबारे थप सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ।