विश्वकपमा मेसीको कीर्तिमानी २१औँ गोल: अर्जेन्टिनाको चमत्कारिक जित, इजिप्ट बाहिरियो

118 पटक पढिएको

२४ असार २०८३, बुधबार ०६:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा इजिप्टलाई ३-२ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडीज-बेन्ज स्टेडियममा भएको यस ऐतिहासिक जितसँगै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेलमा सुरुवाती दबाब इजिप्टले बनाएको थियो । खेलको १५औँ मिनेटमा मारवान अत्तियाको क्रसमा यासेर इब्राहिमले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै इजिप्टलाई १-० को अप्रत्याशित अग्रता दिलाएका थिए । त्यसको लगत्तै अर्जेन्टिनाले बराबरी गर्ने सुवर्ण अवसर पाएको थियो । निकोलस तागलियाफिकोलाई बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्‍यो, तर कप्तान लियोनेल मेसीको प्रहारलाई इजिप्टका गोलकिपर मोस्ताफा सोबेरले उत्कृष्ट बचाउ गर्दै असफल पारिदिए । जारी विश्वकपमा मेसीको यो दोस्रो पेनाल्टी मिस हो ।

पहिलो हाफ १-० मा सकिएपछि दोस्रो हाफको ६७औँ मिनेटमा मोहम्मद सालाहको पासमा मोस्ताफा जिकोले गोल गर्दै इजिप्टको अग्रता २-० को बलियो स्थितिमा पुर्‍याए । यसअघि ६०औँ मिनेटमा जिकोले गरेको अर्को गोललाई भने भीएआर (VAR) ले फउलका कारण रद्द गरिदिएको थियो ।

दुई गोलले पछि परेपछि दबाबमा आएको अर्जेन्टिनाले खेलको अन्तिम ११ मिनेटमा विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट पुनरागमनको कथा रच्यो । खेलको ७९औँ मिनेटमा डिफेन्डर क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि अर्थात् ८३औँ मिनेटमा पेनाल्टी मिस गरेका लियोनेल मेसीले बक्स नजिकै उत्कृष्ट हाफ-भलीमार्फत गोल गर्दै खेललाई २-२ को रोमाञ्चक बराबरीमा ल्याए । यो गोलसँगै मेसीले विश्वकप इतिहासमा आफ्नो व्यक्तिगत गोल संख्या २१ पुर्‍याएका छन् भने जारी विश्वकपमा ८ गोलसहित उनी गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् ।

खेल बराबरी तर्फ धकेलिरहेका बेला इन्जुरी समयको दोस्रो मिनेटमा सब्सिच्युट खेलाडी लाउटारो मार्टिनेजको उत्कृष्ट क्रसलाई मिडफिल्डर एन्जो फर्नान्डेजले प्रहार गरेको बुलेट हेड गोलमा परिणत भएपछि अर्जेन्टिनाले ३-२ को अविश्वसनीय जित सुनिश्चित गर्‍यो ।

यो जितसँगै साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने सपना जीवितै रहेको छ । अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्डले अर्को खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ ।