धादिङमा पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका २१ स्थान पहिरोको उच्च जोखिममा, १८ ठाउँमा होल्डिङ सेन्टर स्थापना गरिँदै
109 पटक पढिएको
धादिङवेशी, २५ असार – नेपालमा मनसुन सक्रिय भएसँगै देशकै प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका विभिन्न स्थानहरू बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण राजमार्गका भित्ताहरू कमजोर भई जुनसुकै बेला ठूला पहिरोहरू खस्न सक्ने अवस्था सिर्जना भएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय धादिङले सम्भावित विपद्लाई ध्यानमा राख्दै विशेष पूर्वतयारी र सुरक्षा रणनीति अगाडि बढाएका छन् ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले राजमार्ग र आसपासका क्षेत्रमा बाढी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका २१ वटा स्थानलाई उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार प्राविधिक अध्ययन र विगतका सडक अवरोधका घटनाहरूलाई आधार मानेर यी संवेदनशील क्षेत्रहरूको पहिचान गरिएको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार गजुरी गाउँपालिका अन्तर्गत पर्ने चालिसे, परेवा भिर, पोखरे खोला, बिहानी पम्प र हिलटप क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । त्यसैगरी थाक्रे गाउँपालिकाको सातकिला र महादेवबेँसी क्षेत्र तथा गल्छी गाउँपालिका भित्र पर्ने चिरौँदी पुल, महेशदोभान, सिमबजार र खेस्टेखोला क्षेत्रलाई पनि जोखिमयुक्त सूचीमा राखिएको छ । धुनीबेँसी नगरपालिका अन्तर्गत पर्ने खानीखोला, तिरतिरे धारा, ठूलो खोला र बाहुनेडाँडा तथा बेनीघाट रोराङ गाउँपालिकाको तिक्राङ खानी, सलाङघाट र विगत लामो समयदेखि चर्चामा रहने गरेको कृष्णभिर क्षेत्र वर्षाका कारण अत्यन्तै संवेदनशील अवस्थामा पुगेका छन् ।
वर्षा र पहिरोका कारण राजमार्ग अवरुद्ध भई हजारौँ यात्रुहरू सडकमै अलपत्र पर्ने जोखिमलाई ध्यानमा राख्दै समितिले जिल्लाका विभिन्न १८ वटा सुरक्षित स्थानहरूलाई होल्डिङ सेन्टरका रूपमा पहिचान गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । राजमार्गको खानीखोला, महादेवबेँसी, सोप्याङखोला, सिम्ले, महेडीखोला, गल्छी बैरेनी, गलौदी, चाम्वास, चिरौँदी बजार र मलेखु बजार लगायतका रणनीतिक स्थानहरूमा यी होल्डिङ सेन्टरहरू स्थापना गरिनेछन् । यस्ता केन्द्रहरूमा पहिरो वा सडक अवरोधका बेला अलपत्र परेका यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षित रूपमा ओत लाग्ने व्यवस्था मिलाइनेछ भने आवश्यक परेको खण्डमा राहत सामग्री र प्राथमिक स्वास्थ्य सेवा समेत उपलब्ध गराइनेछ । यी होल्डिङ सेन्टरहरूको सुरक्षा व्यवस्थापनको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले सम्हाल्नेछन् भने आवश्यक खाद्यान्न र भौतिक व्यवस्थापनमा स्थानीय सरकारहरूले पूर्ण सहयोग गर्ने सहमति भएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले मनसुन अवधिभर धादिङ जिल्ला भित्रका सबै स्थानीय तह, सरकारी कार्यालय, विकास आयोजना तथा सेवा प्रदायक निकायहरूलाई आ–आफ्नो क्षेत्रमा आवश्यक पर्ने जनशक्ति, उद्धार उपकरण र स्रोतसाधनहरू चौबीसै घण्टा तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ । विपद्को समयमा पनि सर्वसाधारण नागरिकहरू मारमा नपरून् भन्नका लागि विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य र यातायात जस्ता अत्यावश्यक सेवाहरू कुनै पनि हालतमा रोकिन नहुने र तिनलाई निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय गरिएको छ । यसका साथै वर्षाको बहानामा बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिनका लागि स्थानीय व्यवसायीहरूलाई खाद्यान्न, इन्धन तथा दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात राख्न र कृत्रिम अभाव वा कालोबजारी हुन नदिन सचेत गराइएको छ ।
राजमार्ग मात्र नभई जिल्लाका ग्रामीण सडकहरूमा समेत मनसुनको ठूलो असर देखिएको छ । बैठकले धादिङबेँसी–धुवाकोट हुँदै नेत्रावती डबजोङ गाउँपालिका जोड्ने सडकका विभिन्न खण्डहरू पहिरोका कारण नराम्रोसँग क्षतिग्रस्त भएकाले त्यसको तत्काल मर्मत सम्भार र यातायात पुनः सञ्चालनका लागि हेटौँडास्थित स्थानीय पूर्वाधार विकास कार्यालयसँग विशेष अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी वर्षा, बाढी र हावाहुरीका कारण ग्रामीण तथा मुख्य क्षेत्रमा ढल्ने विद्युत्का पोलहरू तथा अवरुद्ध हुने प्रसारण लाइनको तत्काल मर्मत गरी विद्युत् आपूर्तिलाई नियमित र सुरक्षित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्ने निर्णय समेत समितिले गरेको छ ।
प्रहरी र प्रशासनले लगातार वर्षा भइरहेको समयमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नुअघि अनिवार्य रूपमा सडक र मौसमको अवस्थाबारे आधिकारिक निकाय वा नजिकको प्रहरी कार्यालयबाट जानकारी लिएर मात्र निस्कन सर्वसाधारणमा अपिल गरेको छ । सम्भावित सडक अवरोधलाई तत्काल खुलाउनका लागि राजमार्गका विभिन्न बुँदाहरूमा हेभी इक्विपमेन्ट, जेसिबी तथा उद्धार टोलीलाई अलर्ट पोजिसनमा राखिएको छ ।







