सिद्धलेक गाउँपालिकामा दरबन्दी बाहिरका ज्यालादारी र करार कर्मचारीको सेवा थप नगर्ने निर्णय
317 पटक पढिएको
धादिङ, असार ३२ । धादिङको सिद्धलेक गाउँपालिकाले साउन १ गतेदेखि लागू हुने गरी दरबन्दीभन्दा बाहिर रहेका ज्यालादारी तथा करार सेवाका कर्मचारीहरूको सेवा निरन्तरता नगर्ने निर्णय गरेको छ। गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू तथा स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा स्वीकृत दरबन्दी बाहिर कार्यरत रहेका कर्मचारीहरूको हकमा यो निर्णय लागू हुने बताईएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यद्वारा बिहीबार (असार ३२ गते) जारी गरिएको सूचना अनुसार बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ को उपदफा (१) बमोजिम स्थानीय सेवाका कर्मचारीले गर्नुपर्ने कार्यका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ। सोही ऐनको व्यवस्थालाई पूर्ण रूपमा परिपालना गर्नुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि साउन १ गतेदेखि त्यस्ता कर्मचारीको म्याद थप नहुने पत्रमा स्पष्ट पारिएको छ।
पत्रमा ऐनको दफा १६ को उपदफा (२) लाई उद्धृत गर्दै चेतावनी समेत दिइएको छ। यदि ऐनविपरीत वा तोकिएको अवधिभित्र पदपूर्तिका लागि माग नगरी कसैलाई ज्यालादारी वा करारमा नियुक्ति गरेमा, त्यस्ता कर्मचारीले खाइपाइ आएको तलब, भत्ता तथा अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने कर्मचारी वा पदाधिकारीबाटै सरकारी बाँकी सरह असुलउपर गरिने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ।
गाउँपालिकाले साउन १ गतेदेखि दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई हाजिर गराएको वा स्वयं हाजिर भएको पाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख, शाखा प्रमुख वा हाजिर गराउने पदाधिकारीकै हुने जनाएको छ। त्यस्ता कर्मचारीहरूको तलब, भत्ता तथा अन्य सुविधाहरू गाउँपालिकाबाट भुक्तानी गर्न नसकिने र सो सम्बन्धमा गाउँपालिका कार्यालय कुनै पनि प्रकारले जिम्मेवार नहुने व्यहोरा समेत सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिएको छ।








https://shorturl.fm/PXH22
https://shorturl.fm/8FXcD
https://shorturl.fm/3qSEh
https://shorturl.fm/FakbQ