साउने सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै, धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व

129 पटक पढिएको

१ श्रावण २०८३, शुक्रबार ०८:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्व साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान र विविध सांस्कृतिक गतिविधि गरी हर्षोल्लासका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति वा साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहिआएको छ।

वैदिक सनातन हिन्दू परम्परामा साउने सङ्क्रान्तिको विशिष्ट महत्त्व छ। साउन महिनाको पहिलो दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ अर्थात् दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि विधिवत् रूपमा दक्षिणायन सुरु हुन्छ। शास्त्रअनुसार वर्ष दिनमा दुईपटक सूर्यको गति परिवर्तन हुने गर्दछ। माघ १ गते मकर सङ्क्रान्तिबाट सुरु हुने ६ महिनाको अवधिलाई उत्तरायण र साउन १ गते कर्कट सङ्क्रान्तिबाट सुरु हुने अवधिलाई दक्षिणायन भनिन्छ। यी दुवै सङ्क्रमणकालीन दिनलाई नेपाली समाजमा विशेष पर्वका रूपमा लिने गरिन्छ।

अधिकांश नेपालीहरू कृषि पेसामा आबद्ध छन्। जेठ र असार महिनाभर मानो रोपेर मुरी उब्जाउने चटारोमा व्यस्त रहेका किसानहरू साउन लागेपछि हिलोमैलोबाट फुर्सद पाउँछन्। असारको हिलोमैलो र पानीमा लगातार काम गर्दा शरीरमा एलर्जी, दाद, चिलाउने वा लुतो जस्ता छालासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना रहन्छ। यसैकारण साउने सङ्क्रान्तिका दिन साँझपख प्राचीनकालदेखि नै लुतो फाल्ने एउटा मौलिक र वैज्ञानिक परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्।

यो परम्परामा विभिन्न औषधीय गुण भएका वनस्पतिहरूको प्रयोग गरिन्छ। काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता वनस्पतिहरूलाई एक ठाउँमा राखेर कण्डारक नाम गरेको रोग फैलाउने राक्षसको पूजा गरी अगुल्टो घरबाहिर फाल्ने चलन छ। लुतो फाल्ने क्रममा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र घरका ढोकाहरू बन्द गर्ने गरिन्छ। यसरी गरिने आवाज र वनस्पति पोलिएको धुवाँले वायुमण्डलमा रहेका हानिकारक कीटाणुहरू नष्ट हुने र घरबाट नकारात्मक ऊर्जा बाहिरिने जनविश्वास रहिआएको छ।

साउन महिनालाई भगवान् शिवको विशेष आराधना गर्ने पवित्र महिनाका रूपमा पनि लिइन्छ। साउने सङ्क्रान्तिको दिनदेखि नै भगवान् आशुतोषको पूजा-अर्चनाका लागि शिवालयहरूमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरका साथै देशभरका साना-ठूला शिवालयहरूमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ।

यस महिनामा प्रकृति पनि हराभरा देखिने भएकाले महिलाहरूले हरियो चुरा, हरियो पोते र हरियो पहिरन लगाएर प्रकृतिप्रति सम्मान र निकटता झल्काउने गर्दछन्। मेहन्दी लगाउने र साउनका सोमबारहरूमा विशेष व्रत बसी सुख, शान्ति र समृद्धिको कामना गर्ने चलन पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ। कृषि कार्यको थकान मेट्दै, स्वास्थ्य सचेतता अपनाउने र धार्मिक आस्था प्रकट गर्ने पर्वका रूपमा साउने सङ्क्रान्तिले नेपाली समाजमा आपसी मेलमिलाप र साँस्कृतिक एकतालाई मजबुत बनाउँदै आएको छ।


The UI flow for understanding platform legitimacy is key here; don’t just trust the initial landing page experience. Remember to check security protocols before diving deep into any gaming details-check out 9666 বৈধ first!