नारायणगढ–मुग्लिन सडक सुचारु: जलविरेमा तीन सवारी ठोक्किँदा ८ जना घाइते, लेन अनुशासन पालना गर्न आग्रह
140 पटक पढिएको
चितवन, ३ साउन । जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आज (आइतबार) बिहान ८:१५ बजे एक सूचना जारी गर्दै दुर्घटनाग्रस्त सवारीसाधनहरूलाई सडकबाट पन्छाएर यातायात सेवा पुनः सुचारु गरिएको जानकारी दिएको हो।
यसअघि, सुरक्षाको दृष्टिकोणले हिजो शनिबार राति १० बजेदेखि बन्द गरिएको नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्ड आज बिहानै खुला गरिएको थियो। तर, सडक खुलेको केही समयमै मुग्लिन–नारायणगढ खण्ड अन्तर्गत पर्ने जलविरेमा तीनवटा सवारीसाधनहरू एकआपसमा ठोक्किँदा सडक दुवैतर्फ ठप्प हुन पुगेको थियाे।
सडक डिभिजन भरतपुरका अनुसार उक्त भयानक त्रिपक्षीय दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना लगत्तै सडक डिभिजन कार्यालय र स्थानीय प्रहरीको टोलीले क्रेन र आवश्यक उपकरणको प्रयोग गरी दुर्घटनाग्रस्त सवारीसाधनहरू सडकबाट हटाएका थिए। लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधनको चाप अत्यधिक बढेकाले सडक विभागले चालकहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
सडक खुलेपछि जारी गरिएको आधिकारिक सूचनामा भनिएको छ, “सडक सुचारु भइसकेको छ। कृपया हतार नगरीकन, सीमित गतिमा र अनिवार्य रूपमा लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन सम्पूर्णमा अनुरोध गरिन्छ।”







