चेक बाउन्स विवादमा सांसद आशिका तामाङ र बुढाथोकी परिवार आमनेसामने
215 पटक पढिएको
काठमाडौँ। अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवन प्रसाद बास्कोटाबिचको करोडौँ रुपैयाँको लेनदेन तथा ठगी विवादमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री आशिका तामाङको नाम समेत जोडिएपछि विवाद उत्पन्न भएको छ।
एकतर्फ पीडित परिवारले घरबाट चेकबुक चोरेर किर्ते हस्ताक्षर गरी सांसद तामाङ र बास्कोटाको नाममा फर्जी ‘चेक बाउन्स’ गराएर ब्ल्याकमेलिङ गरिएको आरोप लगाएका छन् भने अर्कातर्फ सांसद तामाङ र बास्कोटा दुवैले यी आरोपको खण्डन गर्दै आफ्ना तर्क अघि सारेका छन्।
पीडित कुष्मा बुढाथोकीका अनुसार, २०७७ सालमा उनका बुबा डम्बरबहादुर बुढाथोकी क्यान्सरबाट सिकिस्त रहेका बेला जीवन प्रसाद बास्कोटाले आफूलाई ‘नेपाल लाइफ इन्स्योरेन्स’को वरिष्ठ कर्मचारी बताएर परिवारसँग पहुँच बनाएका थिए। बीमा गरिदिने र अन्य विभिन्न बहानामा बास्कोटाले नगद, सुन बिक्री तथा बैंक कर्जा समेत गरी कूल २ करोड ८ लाख रुपैयाँ ठगी गरेको परिवारको दाबी छ।
बुढाथोकी परिवारका अनुसार कुष्मा अमेरिका गएपछि सानिमा बैंकको उनकै निष्क्रिय खाताबाट चेकबुक चोरेर बास्कोटाको नाममा रु १ करोड ८५ लाख र सांसद आशिका तामाङको नाममा रु १ करोड ३५ लाखको किर्ते चेक बाउन्स गराइएको हो।
आशिका तामाङको नाममा चेक बाउन्स भएलगत्तै दिलीप उप्रेती नाम गरेका व्यक्तिले तामाङको सहसचिव भन्दै सिआइबी र इन्टरपोल लगाएर पक्रिन लगाउने धम्की दिएको कुष्माकी बहिनी सुमनाले बताएकी छन्। प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न आलटाल गरेपछि परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको र आयोगको निर्देशनपछि प्रहरी जाहेरी लिन तयार भएको परिवारको भनाइ छ।
यता, सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद आशिका तामाङले भने आफूमाथि लागेका आरोपहरूको खण्डन गर्नुभएको छ। आफू चेक बाउन्सको आरोपी नभई पाउनुपर्ने रकम नपाएर पीडित बनेको उहाँको दाबी छ।
“चेक बाउन्सको विषयमा पीडित पक्ष म स्वयं हुँ। मैले प्राप्त गर्नुपर्ने रकम सम्बन्धी चेक अनादर (बाउन्स) भएको हो, न कि मैले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स गरेको हो,” तामाङले भन्नुभएको छ।
सम्बन्धित व्यक्तिले रकम नतिरेपछि बैंकिङ कानुनअनुसार ४५ दिनको प्रतीक्षा अवधि पूरा गरी कानुनी प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ। आफूले तिर्नुपर्ने रकमबाट बच्न विपक्षी पक्षले मिडिया ट्रायल र मानवअधिकार आयोगसम्म पुगेर भ्रामक दाबी प्रस्तुत गरेको आरोप लगाउँदै तामाङले भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ।
आरोपित जीवन प्रसाद बास्कोटाले पनि ठगी, चेक चोरी र ब्ल्याकमेलिङको आरोप झुटो भएको दाबी गरेका छन्। यो विषय विशुद्ध व्यक्तिगत लेनदेनको भएको र खातामा पर्याप्त रकम नभएका कारण बैंकले चेक बाउन्स गरेको उनको भनाइ छ।
सांसद तामाङसँगको सम्बन्धका बारेमा बास्कोटाले भने, “आशिका तामाङसँग मेरो कुनै चिनजान, मिलेमतो वा कनेक्सन छैन। उहाँको र मेरो विषय नितान्त फरक हो। उहाँहरूको आशिकासँग छुट्टै कारोबार थियो होला, त्यो उहाँहरूले नै जान्ने कुरा हो।”
एकतर्फ बुढाथोकी परिवारले चोरी र किर्ते हस्ताक्षरमार्फत चेक बाउन्स गराइएको दाबी गर्दै कानुनी उपचार खोजिरहेको छ भने अर्कोतर्फ सांसद तामाङ र बास्कोटाले लेनदेनको दायित्वबाट भाग्न असत्य दाबी गरिएको बताएका छन्। प्रहरीले जाहेरी दर्ता गरी निष्पक्ष अनुसन्धान अघि बढाएपछि मात्र घटनाको वास्तविक तथ्य बाहिर आउने देखिन्छ।








https://shorturl.fm/qiuko
https://shorturl.fm/dHrnJ
https://shorturl.fm/Z5tFh
https://shorturl.fm/EaqfA