जरेखेतस्थित त्रिशूली नदीबाट बालुवा निकाल्दै आएका मजदुरलाई प्रहरीले हटायो, सामान पनि जफत
255 पटक पढिएको
धादिङ, ६ साउन। धादिङको गजुरी गाउँपालिका–६ अन्तर्गत जरेखेतस्थित त्रिशूली नदीबाट बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका मजदुरहरूलाई प्रहरीले नदी क्षेत्रबाट हटाएको छ।
बुधबार प्रहरीले नदी किनारमा काम गरिरहेका मजदुरहरूको थुन्से, नाम्लो, साबेल लगायतका सामान नियन्त्रणमा लिएर उनीहरूलाई त्यहाँबाट हटाएको हो। मजदुरहरूका अनुसार प्रहरीले किन हटाएको हो भन्ने विषयमा कुनै स्पष्ट जानकारी दिएको छैन।
स्थानीयका अनुसार जरेखेत क्षेत्रमा लामो समयदेखि दर्जनौँ मजदुरहरू दैनिक रूपमा त्रिशूली नदीबाट बालुवा निकालेर थुन्सेमा बोकी बिक्री गर्दै आएका छन्। यही कामबाट उनीहरूले आफ्नो परिवारको दैनिक गुजारा चलाउँदै आएका छन्। तर, बुधबार एक्कासि प्रहरी पुगेर काम रोक्न लगाउनुका साथै प्रयोग भइरहेका सामान समेत जफत गरेपछि मजदुरहरू अन्योलमा परेका छन्।
मजदुरहरूले आफूहरूको सामान नियन्त्रणमा लिँदा कुनै बरामदी मुचुल्का वा लिखित कागजातसमेत उपलब्ध नगराइएको गुनासो गरेका छन्।
यद्यपि, वर्षायामका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै गएको अवस्थामा सम्भावित दुर्घटनाबाट जोगाउन सुरक्षा सावधानीका लागि प्रहरीले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ। तर, यसबारे जिल्ला प्रहरी कार्यालय धादिङ वा सम्बन्धित प्रहरी इकाइले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
स्थानीयले भने नदीमा रातको समयमा मेसिन प्रयोग गरेर हुने अवैध उत्खनन प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेको अवस्थामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरमाथि मात्रै कडाइ गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित त्रिशूली नदीबाट थुन्सेमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका साना मजदुरहरूमाथि प्रहरीले गरेको कारबाही र सामान जफतको विषयलाई लिएर धेरैले आपत्ति जनाएका छन्।
सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष लक्ष्मण खतिवडाले गरिब मजदुरको थुन्से र साबेल जफत गर्ने प्रहरीको कदमप्रति प्रश्न उठाउँदै यसको औचित्यमाथि संशय व्यक्त गर्नुभएको छ।
“यो ठाउँमा धेरै पहिलादेखि मानिसहरू पानीमै डुबेर थुन्सेमा बालुवा बोकेर काम गर्ने गर्थे। यो कुनै खानी वा ढिस्को खनेर निकालिएको होइन, नदीले आफैँ बगाएर ल्याएर थिग्रिएको बालुवा हो,” पूर्व वडा अध्यक्ष खतिवडाले भन्नुभयो, “यसरी थुन्सेमा बालुवा बोक्दा न त भू-क्षय भएको छ, न त नजिकैको सडकलाई नै कुनै क्षति पुगेको देखिएको छ। यस्तो अवस्थामा प्रहरीले केका लागि र किन थुन्से समेत जफत गरेको होला?”
वर्षौँदेखि परम्परागत ढङ्गले त्रिशूलीको भेलबाट बालुवा झिकेर दुई छाक टार्दै आएका साना मजदुरहरूको सामान नियन्त्रणमा लिइँदा उनीहरूको रोजीरोटी नै खोसिएको स्थानीयको भनाइ छ। रातको समयमा ठूला मेसिन र एक्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको अवैध दोहन गर्नेहरूतर्फ ध्यान नदिई थुन्सेमा बालुवा बोक्ने गरिबमाथि प्रहरीले कडाइ गरेको भन्दै स्थानीयले तीव्र असन्तुष्टि जनाएका छन्।
त्रिशूली नदीमा थुन्से र साबेलका भरमा बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका साना मजदुरहरूलाई प्रहरीले हटाएको र औजार जफत गरेको विषयमा स्थानीय प्रशासन मौन बसेको छ।
वर्षात्को समयमा नदीमा जोखिम बढेको वा अन्य कुनै कारणले मजदुरहरूलाई त्यहाँबाट हटाइएको हो भन्नेबारे आधिकारिक जानकारी लिन खोज्दा धादिङका प्रमुख जिल्ला अधिकारी र इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक सँग सम्पर्क गरिएको थियो। तर समाचार तयार पार्दासम्म दुवै जनाबाट कुनै प्रतिक्रिया पाउन सकिएन।







