ज्वालामुखीमा रोपाइँ गएका १५ जना बिरामी विषाक्त खाना वा पानीका कारण फुड पोइजनिङ भएको शङ्का
151 पटक पढिएको
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–६ साँधभञ्ज्याङ मिलनटोलमा रोपाइँमा सहभागी भएका एक बालकसहित १५ जना गम्भीर बिरामी परेका छन्। खेतमा खाजा खाएका र मुहानको पानी पिएका उनीहरू फुड पोइजनिङका कारण बिरामी परेको शङ्का गरिएको छ।
बिरामी पर्नेहरूमा १ बालक, ६ पुरुष र ८ महिला रहेका छन्। स्थानीय यानबहादुर मगरातीका अनुसार साउन ७ गते रोपाइँ सकेर राति १२ बजेदेखि नै उनीहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो।
रोपाइँमा सहभागीहरूलाई एक्कासी टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, जोरो आउने तथा बान्ता र पखाला लाग्ने जस्ता कडा लक्षणहरू देखिएका थिए। सुरुमा गाउँकै स्थानीय मेडिकलमा प्राथमिक उपचार गराइए पनि अवस्था सुधार नभएपछि उनीहरूलाई धादिङ अस्पताल ल्याइएको छ।
अस्पतालमा साउन ९ गते ४ जना र साउन १० गते बिहान ६ जना गरी १० जना भर्ना भइसकेका छन् भने अन्य बिरामीहरू पनि अस्पताल आउने क्रम जारी छ। रोपाइँ गराउने खेतधनी मिरा रमतेल पनि बिरामी परेकी छन्। तर, घरमा आर्थिक अभावका कारण उपचार गराउने पैसा नभएर उनी अस्पताल जान नसकी घरमै बसेको बताइएको छ।
साउन ७ गते मिराको खेतमा रोपाइँका क्रममा खाजाको रूपमा मासु, भात, अचार र तरकारी खाइएको थियो। साथै, उनीहरूले खेतभन्दा अलि माथि रहेको मुहानको पानी पिएका थिए।
रोपाइँ हुनुभन्दा केही दिनअघि अर्थात् साउन २ गते सोही मुहान क्षेत्रमा झार मार्ने विषादी (Herbicide) हालिएको यानबहादुर मगरातीले जानकारी दिनुभयो। सोही विषादीयुक्त मुहानको पानी वा खाजाका कारण घटना भएको अनुमान गरिएको छ। रोपाइँमा खेताला गएका सबैजना र एक बालक एकैपटक बिरामी परेपछि स्थानीय मिलनटोल अहिले स्तब्ध बनेको छ।








https://shorturl.fm/Hvfjb