नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
97 पटक पढिएको
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले श्रेष्ठको निधनको पुष्टि गरेका छन् ।
उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधवार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।
त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिने छ ।
कांग्रेस सभापति गगन थापाले गत साउन ७ गते नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेका थिए ।







