सूर्यज्योति लाइफ इन्सुरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित, उपलब्धि समीक्षा सम्पन्न

91 पटक पढिएको

१७ श्रावण २०८३, आईतवार २१:२२ सम्पादक: धादिङ न्यूज

धादिङबेसी – सूर्यज्योति लाइफ इन्सुरेन्स धादिङ शाखाले अभिकर्ता सम्मान तथा उपलब्धि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। साउन १७ गते आईतबार धादिङबेसीमा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा प्रथम बिमा शुल्क सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गरिएको हो।

शाखा प्रमुख जीवन सिलवालका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा धादिङ शाखाले ४ सय २१ जनाबाट प्रथम बिमा शुल्कबापत ३ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्न सफल भएको छ। सोही अवधिमा हरेक महिना उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो।

वर्षभरिमा व्यक्तिगत कोडमार्फत उत्कृष्ट व्यवसाय गर्ने र सबैभन्दा बढी बिमालेख सङ्कलन गर्ने राजकुमार गर्तोलासहित ४ जना अभिकर्तालाई उपहार तथा टोकन अफ लभसहित सम्मानित गरियो। यस्तै, टिम व्यवसायतर्फ उत्कृष्ट नतिजा ल्याउने ४ जना, स्टार एजेन्सी बन्न सफल ईश्वरी अर्याल र कर्पोरेट बिजनेस पार्टनरको रूपमा रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थालाई समेत कदरपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश प्रमुख चरणदास तिमल्सिना, तालिम तथा विकास विभाग प्रमुख उत्तमप्रसाद आचार्य र नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम अधिकारीलगायतले शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा र व्यावसायिक उत्कृष्टतालाई निरन्तरता दिन आग्रह गर्नुभयो।

चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती आधा महिनामै प्रथम बिमा शुल्कबापत ३ करोड रुपैयाँ सङ्कलन भइसकेको जानकारी गराउँदै शाखा प्रमुख सिलवालले यस वर्ष धादिङ शाखालाई देशकै उत्कृष्ट शाखा बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो।