धुनिवेशीको खर्केडाँडा सालक पार्कमा रोपिए ७० साकुराका बिरुवा

79 पटक पढिएको

१८ श्रावण २०८३, सोमबार ०७:०३ सम्पादक: धादिङ न्यूज

धादिङ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा धादिङको धुनिवेशी नगरपालिकामा ७० वटा साकुराका बिरुवा वृक्षारोपण गरिएको छ। धुनिवेशी नगरपालिका वडा नं. ८ स्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको रमणीय खर्केडाँडा सालक पार्कमा आयोजित विशेष समारोहका बीच उक्त बिरुवाहरू रोपिएका हुन्।

धुनिवेशी नगरपालिकाको आयोजना तथा लभ ग्रीन नेपालको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा टोरु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, लभ ग्रीन नेपालकी अध्यक्ष अमिरा दली, जापानी प्रतिनिधिमण्डलका सदस्यहरू तथा स्थानीय जनप्रतिनिधिहरूको  सहभागिता रहेको थियो।

नेपालले जापानलाई मित्रताको चिनोका रूपमा उपहार स्वरूप दिएको पैँयुलाई जापानले लामो समयदेखि विशेष संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। जापानको राष्ट्रिय फूलका रूपमा प्रसिद्ध साकुराका ३०० भन्दा बढी प्रजातिहरू रहेका छन्। जापानी अधिकारीहरूका अनुसार नोभेम्बर महिनातिर फूल्ने साकुरा जापानमा फुलेपछि करिब दुई दिनमै झर्ने भए पनि नेपालको वातावरणमा भने यो करिब १० दिनसम्म टिकिरहने गर्दछ। नेपालका काभ्रे, नमोबुद्ध, जाजरकोट र धादिङ लगायतका क्षेत्रमा प्राकृतिक रूपमै पाइने पैँयुको संरक्षण तथा प्रवर्द्धनका लागि यो अभियान निकै महत्त्वपूर्ण मानिएको छ।

काठमाडौंबाट सहज पहुँचमा रहेको र त्रिभुवन राजपथसँग जोडिएको खर्केडाँडा सालक पार्कमा रोपिएका साकुराका बिरुवाहरू सफलतापूर्वक हुर्कन सकेमा यस क्षेत्रको प्राकृतिक सुन्दरतामा थप निखार आउनेछ। यसले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा साकुरा वृक्षारोपण अभियानलाई सफल बनाउन विशेष पहल गर्नुहुने दिनेश लोहनी लगायत सम्पूर्ण सहभागीहरूले संयुक्त रूपमा बिरुवा रोपेका थिए। सो अवसरमा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाशु श्रेष्ठले दुई देशबीचको ऐतिहासिक सम्बन्धको अवसरमा आफ्नो समूह जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले रोपिएका बिरुवाहरूको शतप्रतिशत संरक्षण गरी हुर्काउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा राख्नुभयो।

आयोजकका अनुसार यस वृक्षारोपण अभियानलाई नेपाल र जापानबीचको प्रगाढ मित्रताको प्रतीकका साथै वातावरण संरक्षण र प्रवर्द्धनको दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।