धादिङ सहित ६२ जिल्ला शाखालाई बक्यौता बुझाउन रेडक्रस केन्द्रीय कार्यालयको निर्देशन

259 पटक पढिएको

२० श्रावण २०८३, बुधबार १०:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले लामो समयदेखि आर्थिक अनुशासन र बेरुजु फर्छ्यौटमा ढिलाइ गरिरहेका धादिङसहित मुलुकका ६२ वटा जिल्ला शाखाहरूलाई तत्काल बक्यौता रकम बुझाउन औपचारिक ताकेता गरेको छ। संस्थाभित्र वर्षौंदेखि सञ्चित हुँदै आएको आर्थिक बेरुजु र बक्यौता फर्छ्यौट गर्ने उद्देश्यका साथ केन्द्रीय कार्यालयले सबै सम्बन्धित जिल्ला शाखाहरूलाई पत्र काट्दै कडा निर्देशन दिएको हो।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री ऋषिरमण खनालद्वारा हस्ताक्षरित पत्रमा जिल्ला शाखाहरूले अबको २१ दिनभित्र अनिवार्य रूपमा आफूले बुझाउन बाँकी रहेको बक्यौता रकम केन्द्रीय कार्यालयको आधिकारिक बैंक खातामा जम्मा गरिसक्नुपर्ने स्पष्ट पारिएको छ। तोकिएको अवधिभित्र रकम दाखिला गरी सोको बैंक भौचर वा आधिकारिक प्रमाण केन्द्रीय कार्यालयमा नपठाएमा संस्थाको विधान, आर्थिक नियमावली तथा प्रचलित मुलुकी ऐन-कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत महामन्त्री खनालले दिएका छन्।

रेडक्रस केन्द्रीय कार्यालयका अनुसार विगत २५ वर्षको लामो अवधिमा विभिन्न जिल्ला शाखाहरूबाट ब्लड ब्याग, स्वास्थ्य सामाग्री किट तथा अन्य फरक-फरक शीर्षकमा गरी झण्डै २ करोड रुपैयाँ बराबरको रकम बक्यौताका रूपमा बाँकी रहँदै आएको छ। यसअघि सरकारी तथा गैरसरकारी निकायहरूबाट भएका विभिन्न अध्ययन, छानबिन र समाज कल्याण परिषद्ले दिएका सुझावका आधारमा टेकेर यो कडा कदम चालिएको पत्रमा उल्लेख छ। विगत साढे दुई दशकको अवधिमा मातहतका निकायलाई यसरी बक्यौता र बेरुजु फर्छ्यौटका लागि ताकेता पत्र नै पठाएर कडा निर्देशन दिइएको यो पहिलो पटक हो।

लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र व्यापक आर्थिक अनियमितता, अपारदर्शिता र बेरुजुका विषयमा गम्भीर प्रश्नहरू उठ्दै आएका थिए। यस्तो पृष्ठभूमिमा हालै जिम्मेवारी सम्हालेको नयाँ नेतृत्वले थालेको यो अभियानले केन्द्र र जिल्ला शाखाहरूबीचको भताभुङ्ग बनेको आर्थिक प्रणालीलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने विश्वास केन्द्रीय कार्यालयका अधिकारीहरूले व्यक्त गरेका छन्।

केन्द्रीय कार्यालयले बक्यौता फर्छ्यौटका लागि पत्र पठाएका ६२ जिल्ला शाखाहरूमा धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, भोजपुर, सोलुखुम्बु, खोटाङ, उदयपुर, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), नवलपरासी (पूर्व), रुपन्देही, कपिलवस्तु, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, रुकुम (पश्चिम), रोल्पा, सल्यान, प्युठान, हुम्ला, अछाम, बझाङ, बाजुरा, कैलाली, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा रहेका छन्।