गजुरीमा बालुवा मजदुर त्रिशूलीमा फर्किएपछि आक्रोशित बनिन् सांसद आशिका तामाङ, जनप्रतिनिधिमाथि आरोप लगाउँदै लेखिन् पोस्ट

191 पटक पढिएको

२५ श्रावण २०८३, सोमबार ०७:३६ सम्पादक: धादिङ न्यूज

धादिङ । त्रिशूली नदीबाट बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका स्थानीय मजदुरहरू काममा फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य आशिका तामाङ आक्रोशित बनेकी छन्। मजदुरहरू काममा फर्किएलगत्तै सांसद तामाङले गजुरी गाउँपालिकाका जनप्रतिनिधिहरूमाथि आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्।

यसअघि सांसद तामाङले शक्ति प्रदर्शन गर्दै प्रहरी प्रशासनलाई दबाब दिएर गजुरी राईगाउँका मजदुरहरूलाई त्रिशूली नदीबाट हटाउन लगाएकी थिइन्। सत्तारुढ दलकी सांसदको निर्देशनपछि प्रहरी प्रशासनले रोक लगाएपछि लामो समयदेखि बालुवा निकालेर गुजारा चलाउँदै आएका स्थानीय मजदुरहरूको रोजीरोटी खोसिएको थियो।

मजदुरहरूको रोजीरोटी र सुरक्षाको समस्या उत्पन्न भएपछि गजुरी गाउँपालिकाले अग्रसरता लिएको थियो। गाउँपालिकाले जनप्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय सरोकारवाला र मजदुरहरूसँग नदीकिनारमै छलफल गरी साउन २४ गते आइतबारदेखि उनीहरूलाई काममा फर्काएको हो। नदीमा काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाको तर्फबाट मजदुरहरूलाई लाइफ ज्याकेट, लाइफ रिङलगायतका सुरक्षा सामग्री समेत हस्तान्तरण गरिएको थियो।

गाउँपालिकाको पहलमा सुरक्षा सामग्रीसहित मजदुरहरू पुनः काममा फर्किएपछि सांसद तामाङ आक्रोशित बनेकी हुन्। त्यसलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र ५ नम्बर वडाका अध्यक्ष गोविन्द लामिछानेमाथि गम्भीर आरोप लगाएकी थिइन्। तामाङले गाउँपालिका अध्यक्ष श्रेष्ठले स्थानीयलाई नियमविपरीत उक्साएको र वडा अध्यक्ष लामिछाने गैरकानुनी रूपमा बालुवा बोक्ने कार्यमा संलग्न भएको भन्दै टिप्पणी गरेकी थिइन्।

आफ्नो रोजीरोटीका लागि काममा फर्किएका मजदुर र उनीहरूलाई सहयोग गर्ने जनप्रतिनिधिविरुद्ध सांसद तामाङले दिएको उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। मजदुरको पेटमा लात हान्ने र प्रहरी प्रशासन लगाएर दुःख दिने काम गरेको भन्दै उनको पोस्टमा सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।

यस विषयमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र वडा अध्यक्ष गोविन्द लामिछानेको थप प्रतिक्रिया भने आउन बाँकी छ।