धादिङमा सुपर क्युका बसहरूबाट ‘बेस्टबस’ स्टिकर हटाउन ७ दिनको म्याद
1070 पटक पढिएको
‘
धादिङ – धादिङ मण्डली यातायात प्रा.लि. र ग्रामीण यातायात धादिङ प्रा.लि.ले संयुक्त क्यु डायलमा सञ्चालन भइरहेका सुपर क्युका बसहरूबाट ७ दिनभित्र ‘बेस्टबस’ स्टिकर हटाउन व्यवसायी तथा चालकहरूलाई निर्देशन दिएका छन्। ननस्टप क्युमा चल्ने बस बाहेक अन्य सवारी साधनमा पनि ‘बेस्टबस’ लेखिँदा यात्रुहरूमा अन्योल सिर्जना भएको भन्दै सूचना जारी गरी स्टिकर हटाउन आग्रह गरिएको हो।
दुवै प्रा.लि.मा दर्ता भई सञ्चालनमा रहेका डिलक्स र सुपर बसहरूले सवारी साधनमा ‘बेस्टबस’ लेख्दा कुन बस ननस्टप हो भन्ने छुट्याउन यात्रुहरूलाई गाह्रो भएको छ। यस विषयमा प्रा.लि. तथा स्थानीय प्रशासनमा निरन्तर यात्रुहरूको गुनासो आएपछि अबदेखि ननस्टप क्युमा सञ्चालन हुने बसहरूले मात्र ‘बेस्टबस’ लेख्न पाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
अन्य सुपर क्युमा सञ्चालन भइरहेका सबै बसहरूले साउन २५ गतेको मितिले ७ दिनभित्र आ-आफ्नो सवारी साधनमा लेखिएको ‘बेस्टबस’ स्टिकर हटाइसक्नुपर्नेछ। सूचनालाई अटेर गरी तोकिएको समयभित्र स्टिकर नहटाएमा र भोलिका दिनमा प्रशासनले कारबाही गरेमा त्यसको जिम्मेवार स्वयम् व्यवसायी नै हुनुपर्ने संयुक्त क्युका संयोजक तुलसी प्रसाद अधिकारीले जानकारी दिनुभयो।
ननस्टप सेवाअन्तर्गत धादिङबेसी र काठमाडौँबाट छुटेपछि ती बसमा बीच बाटोका अन्य ठाउँबाट यात्रु चढाउन पाइँदैन। छिटो यात्रा गर्नुपर्नेहरूले ननस्टप सेवा प्रयोग गर्ने गर्दछन् भने अन्य बसको तुलनामा यी बसको भाडा दर पनि बढी रहेको छ।







