गजुरीको चाम्बास नजिकै पृथ्वीराजमार्गबाट त्रिशूलीमा हाम फालेर युवक वेपत्ता
847 पटक पढिएको
धादिङ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको यात्रुवाहक बसबाट ओर्लिएका एक युवक धादिङको गजुरी गाउँपालिका वडा नं. २ चाम्बास टोलस्थित सडकबाट करिब ३५० मिटर तल भीरबाट हाम फालेर बेपत्ता भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार आज साँझ अन्दाजी ५:५० बजेको समयमा अन्दाजी २२-२३ वर्षका अरुण लिम्बू नाम गरेका युवक भीरबाट हाम फालेका हुन्। घटनालगत्तै स्थानीय युवाहरू तथा सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका छन्।
उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज कार्की आफैँ फिल्डमा खटिनुभएको छ। साथै, राम बस्नेत, अस्थायी प्रहरी पोस्टका इन्चार्ज रामकुमार प्रजा, वडा सदस्य धननाथ सिलवाल लगायत स्थानीय युवाहरूको टोलीले खोजी कार्य तीव्र पारिरहेको छ।
स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरी टोलीको तदारुकताका साथ भइरहेको खोजी प्रयासलाई स्थानीयले विशेष धन्यवाद व्यक्त गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।







