धानबालीमा गवारोको समस्या देखिएपछि कृषि प्राविधिकद्वारा स्थलगत निरीक्षण

68 पटक पढिएको

७ भाद्र २०८३, आईतवार ०४:५६ सम्पादक: धादिङ न्यूज

 

धादिङ । कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, धादिङका प्राविधिक टोलीले जिल्लाका कृषकका खेतमा पुगेर धानबालीको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा धानको बोटमा क्षति पुर्‍याउने धानको गवारो को समस्या पहिचान गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी समेत रहनु भएका बाली संरक्षण अधिकृत जयराम अधिकारीले बताउनु भयो ।

समस्या पहिचानपछि प्राविधिक टोलीले प्रभावित कृषकलाई गवारो नियन्त्रण तथा व्यवस्थापनका उपयुक्त विधिबारे आवश्यक सुझाव दिएको छ। साथै, कृषकलाई समस्या नियन्त्रणका लागि कार्यालयबाट निःशुल्क कीटनाशक विषादी समेत उपलब्ध गराइएको जनाइएको छ।

धानबालीमा समयमै रोग तथा कीराको समस्या पहिचान गरी उचित व्यवस्थापन गर्न सके उत्पादनमा हुने क्षति न्यूनीकरण गर्न सकिने कृषि प्राविधिकहरूको भनाइ छ।

कृषकका खेतमा देखिएका कृषि समस्याको स्थलगत पहिचान तथा समाधानका लागि कृषि विकास कार्यालय, धादिङले प्राविधिक सहयोगलाई निरन्तरता दिने जनाएको छ।