त्रिभुवन र पृथ्वी राजमार्ग जोडिने धादिङका मुख्य सडक ठप्प

56 पटक पढिएको

२१ भाद्र २०८३, आईतवार ०७:५८ सम्पादक: धादिङ न्यूज

धादिङ- अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य जीवनरेखा मानिने धादिङका विभिन्न सडकखण्ड अवरुद्ध हुँदा देशभरको यातायात सेवा नराम्ररी प्रभावित भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले कटान गरेपछि र गजुरीको चालिसेमा सडक माथिबाट पहिरो खसेपछि यो राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। परेवा भीर र ज्वाङखोलामा भने जोखिमका बीच एक तर्फबाट मात्र गाडी पास गराइएको छ।

धादिङबाहेक कालिकोटको गगने खोला, मुगुको गमगढी र रोल्पाको सहिद राजमार्गमा पहिरो खसेर सडक पूर्ण ठप्प छन् भने रसुवाको पासाङ ल्हामु राजमार्ग पनि भोटेकोशीको बाढी र नदी कटानका कारण अवरुद्ध बनेको छ। उता ललितपुरको भट्टेडाँडामा सडक भासिएकाले कान्तिलोकपथ एकतर्फी मात्र सञ्चालनमा छ।

विपत्का कारण अन्य मुख्य राजमार्गहरूमा सवारी सञ्चालनमा समयसीमा तोकिएको छ। काभ्रे–सिन्धुली जोड्ने सडकमा साना सवारी बिहान ४ देखि बेलुकी ६ बजेसम्म र मालवाहक गाडी राति मात्र चल्न पाउने व्यवस्था गरिएको छ। मकवानपुर र नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि सवारी साधनका लागि समय र वैकल्पिक मार्ग निर्धारण गरिएको छ। सडकको स्थिति नाजुक रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।