त्रिशूलीमा पुलको पुनर्निर्माण गर्न धादिङवासीको दबाब, सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान व्यापक

99 पटक पढिएको

२२ भाद्र २०८३, सोमबार २०:०७ सम्पादक: धादिङ न्यूज

धादिङ-गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गबाट धादिङको सदरमुकाम धादिङबेँसी जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङवासीको दैनिक जीवन निकै कष्टकर बनेको छ। यातायात पूर्ण रूपमा ठप्प भएपछि हजारौँ नागरिकको आवागमन ठप्प हुनुका साथै खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। यस गम्भीर सङ्कटको समाधानका लागि धादिङका स्थानीय नागरिकहरूले सरकारलाई तत्काल कदम चाल्न दबाब दिन थालेका छन्।

नागरिकस्तरबाट तत्काल यातायात सहज बनाउन बेलिब्रिज जडान गर्न र दीर्घकालीन रूपमा पक्की पुलको पुनर्निर्माण अघि बढाउन माग गर्दै सामाजिक सञ्जालमा #ConnectDhading अभियान तीव्र पारिएको छ। आइतबारदेखि सुरु भएको यो अभियान छोटो समयमै फेसबुकमा ट्रेन्डिङ बन्दै व्यापक रूपमा फैलिएको छ, जसले सम्बद्ध निकायको ध्यान तानेको छ।

उक्त पुल भएर दैनिक करिब २०० यात्रुबाहक, १५० मालवाहक र ३०० को हाराहारीमा साना तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्ने गर्थे। यो मार्ग धादिङका ८, गोरखाका २ स्थानीय तह र मनास्लु पर्यटन पदमार्गसँग प्रत्यक्ष जोडिएका दुई लाखभन्दा बढी जनसङ्ख्याको मुख्य आवतजावत गर्ने माध्यम हो। हाल प्रयोगमा ल्याइएका कच्ची वैकल्पिक सडकहरूले नागरिकको आवश्यकता धान्न सकेका छैनन्। नजिकिँदै गरेका चाडपर्व, उपभोग्य वस्तुको आपूर्ति र आपत्कालीन सेवाका लागि यो पुलको पुनर्निर्माण झनै अत्यावश्यक बनेको छ। स्थानीयले यस मुद्दालाई कुनै राजनीतिक स्वार्थ नभई आम नागरिकको जीवन, सहज आवागमन र स्थानीय अर्थतन्त्रसँग जोडिएको साझा सवालका रूपमा अघि सारेका छन्।