खाजा खर्च काटेर भोटेकोसी बाढीपीडितको सहायतामा जुटे रुबीभ्याली मुक्रापदेवी माविका बालबालिका

79 पटक पढिएको

२५ भाद्र २०८३, बिहीबार ०६:५० सम्पादक: धादिङ न्यूज

धादिङ, २५ भदौ । धादिङ जिल्लाको अति विकट रुबीभ्याली गाउँपालिकास्थित बोराङमा रहेको मुक्रापदेवी माध्यमिक विद्यालयका बालबालिकाले खाजा खाने पैसा बचाएर भोटेकोसी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।

विद्यालयमा सक्रिय सरस्वती बाल क्लबमा आबद्ध विद्यार्थीहरूले आफूले खाजा खान जम्मा गरेको रकमबाट  ५,१०० (एकाउन्न सय) रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

भौगोलिक रूपमा विकट बस्तीमा रहेर पनि बालबालिकाले देखाएको यो मानवीय समवेदना र परोपकारी भावनाले सबैको मन जितेको छ। विद्यालयका प्रधानाध्यापक तीर्थराज सुवेदीका अनुसार बालबालिकाले आफ्नै पहलमा खाजाको पैसा जोगाएर विपद्मा परेकाहरूका लागि यो रकम जुटाएका हुन्। संकलित रकम आधिकारिक बैंक खातामार्फत राहत कोषमा पठाइएको छ। सानो उमेरमै बालबालिकामा देखिएको यो सामाजिक उत्तरदायित्व र सहृदयी भावनाले अहिले सबैतिर प्रशंसा पाएको छ।