धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

62 पटक पढिएको

२८ भाद्र २०८३, आईतवार २०:५० सम्पादक: धादिङ न्यूज

धादिङ। बाढीका कारण डुबानमा परी क्षतिग्रस्त बनेको धादिङको जहरे सबस्टेसन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ।

गत भदौ १० गते आएको बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनाहरूमा ठूलो क्षति पुगेको थियो। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। सोही प्रयासस्वरूप आज (भदौ २८ गते) दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गत २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायतका प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।

प्राधिकरणका अनुसार सबस्टेसन सुचारु भएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ भने नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न बाँकी आवश्यक कामहरूलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।