धादिङबेसी–साङ्कोष–तिप्लिङ सडकको थोपल खोलामा पक्की पुल निर्माण सुरु, आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य
65 पटक पढिएको
धादिङ, २६ कात्तिक। धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीलाई उत्तरी धादिङसँग जोड्ने मुख्य सडक खण्डमा पर्ने थोपल खोलामा पक्की पुल निर्माण सुरु भएको छ। धादिङबेसी–साङ्कोष–तिप्लिङ सडकअन्तर्गत धादिङबेसी पुछारबजार बसपार्क चोकबाट पशुपति मन्दिरतर्फ जाने सडकमा पर्ने थोपल खोलामा बागमती प्रदेश सरकारमार्फत पुल निर्माणको काम अघि बढाइएको हो।
पूर्वाधार विकास कार्यालय धादिङमार्फत निर्माण हुन लागेको पुलको काम २०८३ कात्तिक २६ गतेदेखि सुरु भएको हो। निर्माणको जिम्मेवारी पाएको एसएस कन्स्ट्रक्सनका प्रोप्राइटर जयराम भण्डारीले आगामी असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिनुभयो।
जिल्लाको उत्तरी भेगलाई सदरमुकामसँग जोड्ने महत्वपूर्ण सडकमा लामो समयदेखि पक्की पुलको अभाव रहँदै आएको थियो। विशेषगरी वर्षायाममा थोपल खोलामा पानीको बहाव बढ्दा सवारीसाधन तथा पैदल यात्रुलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो। सदरमुकामबाट उत्तरी धादिङ जोड्ने मुख्य सडक खण्डमा पक्की पुल नहुँदा स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधनले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए।

पुल निर्माण भएपछि रुवीभ्याली, खनियाबास, नेत्रावती डबजोङ र त्रिपुरासुन्दरी गाउँपालिकाका साथै नीलकण्ठ नगरपालिकाका वडा नम्बर ११, १२ र १३ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। यसले उत्तरी धादिङका बासिन्दालाई सदरमुकामसँग जोड्ने सडक यातायातलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
पुल निर्माण सुरु भएसँगै उत्तरी धादिङका नागरिकले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। निर्धारित समयभित्र निर्माण सम्पन्न भएमा आगामी वर्षायामदेखि नै यस सडक खण्डमा आवागमन थप सहज हुने विश्वास गरिएको छ।







