गृह मन्त्रालयद्वारा जिल्ला प्रशासन कार्यालयलाई सेवा प्रवाह सहज बनाउन निर्देशन

42 पटक पढिएको

३० भाद्र २०८३, मंगलवार १२:५० सम्पादक: धादिङ न्यूज

धादिङ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

गृह मन्त्रालयअन्तर्गत शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै सेवाग्राहीलाई बिचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएको हो।

मन्त्रालयले सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिलाई निगरानी गरी कानुनबमोजिम कारबाहीको व्यवस्था मिलाउन भनेको छ।

त्यस्तै, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन निर्देशन दिइएको छ।

नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने विभिन्न निवेदन तथा फाराम, राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवाका लागि अनलाइन फाराम भर्ने सेवा, फोटोकपी तथा स्क्यान सेवा र इमेलमार्फत पत्राचार गरी अभिलेख बुझ्ने तथा प्राप्त गरी प्रिन्ट गर्ने सेवासमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट नागरिक सहायता कक्षमार्फत निःशुल्क सहायता उपलब्ध गराउने व्यवस्था गर्न पनि आग्रह गरेको छ।

सेवा प्रवाहमा प्रभावकारिता बढाउन आवश्यक सूचना तथा जानकारी कार्यालयको वेबसाइट, सामाजिक सञ्जाललगायत उपयुक्त माध्यमबाट नियमित रूपमा सार्वजनिक गर्न तथा कार्यालयको वेबसाइट नियमित अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ।