भोटेकोशी बाढीले अमनटारमा खानेपानीको संकट, अमनटारको संकटमा मानवीयता देखाउँदै आदमटारवासी

9 पटक पढिएको

३० भाद्र २०८३, मंगलवार २१:२२ सम्पादक: धादिङ न्यूज

धादिङ: गत भाद्र १० गते भोटेकोशी  विनाशकारी बाढीका कारण प्रभावित बनेको धादिङको सिद्धलेक–७, अमनटारमा खानेपानीको चरम संकट उत्पन्न भएको छ। बाढीले लिफ्टिङ प्रविधिबाट सञ्चालन हुँदै आएको सामुदायिक खानेपानीको संरचना पूर्ण रूपमा बगाएपछि त्यहाँका करिब ४० घरधुरी गम्भीर समस्यामा परेका छन्।
बाढीअघि पनि अमनटारवासीले सहज रूपमा खानेपानी उपभोग गर्न पाएका थिएनन्। कहिले मेसिन जल्ने, कहिले भोल्टेजको समस्या आउने लगायतका कारण नियमित खानेपानी आपूर्तिमा अवरोध हुँदै आएको थियो। तर, भोटेकोशी बाढीले खानेपानीको संरचना नै क्षतिग्रस्त बनाएएपछि अवस्था झनै भयावह बन्न पुगेको छ। अरुणोदय युवा क्लबका अध्यक्ष राजाराम खतिवडा बताउनुहुन्छ, “अहिले अमनटारवासीलाई पिउने पानी मात्र होइन, गाईबस्तुलाई खुवाउने पानीसमेत करिब २ किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता छ।”

यही संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै भाद्र ३० गते दिउँसो ३ बजे आदमटार सामुदायिक भवनमा खानेपानी र बाढीले पुर्‍याएको क्षतिको बारेमा छलफल गरिएको सिद्धलेक–७ का वडा अध्यक्ष सानु गिरीले बताउनु भयो। स्थानीय बासिन्दा र खानेपानी उपभोक्ता समितिको उपस्थितिमा भएको उक्त छलफलबाट अमनटारको खानेपानी संरचना मर्मत नभएसम्मका लागि मानवीयताको दृष्टान्त प्रस्तुत गर्दै सिद्धलेक–७ कै आदमटारवासीले उपभोग गर्दै आएको खानेपानीबाट केही समय अमनटारवासीलाई समेत पानी उपलब्ध गराइने भएको छ। आफ्नै गाउँ आदमटारमा समेत पानीको समस्या हुँदाहुँदै पनि संकटमा परेका छिमेकीलाई लक्षित गर्दै गरिएको “हामीलाई थोरै भए पनि पुग्छ, तर उहाँहरूलाई अहिले पिउने पानी चाहिएको छ” भन्ने भावनाले अमनटारवासीमा ठूलो खुसी र राहतको अनुभूति गराएको छ।
छलफलको निर्णयअनुसार आदमटारको रिजर्भ ट्याङ्कीबाट अमनटारको ट्याङ्कीसम्म करिब ३ किलोमिटर दूरीमा २५ एमएमको पाइपमार्फत पानी पुर्‍याउने व्यवस्था मिलाउनुपर्नेछ।

प्राकृतिक प्रकोपले ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याइरहेको यस कठिन घडीमा छिमेकीको दुःखमा छिमेकी नै उभिनुपर्छ भन्ने मानवीयताको एक जीवित उदाहरण हो। बाढीले भौतिक संरचनाहरू बगाउन सके पनि नेपाली समाजमा रहेको आपसी सद्भाव, सहयोग र परोपकारको भावनालाई भने बगाउन सकेको छैन।