धादिङको गलौंदी र रातमाटे होल्डिङ सेन्टरको खानेपानी प्रयोगशाला परीक्षणमा सुरक्षित

32 पटक पढिएको

३१ भाद्र २०८३, बुधबार ११:२५ सम्पादक: धादिङ न्यूज

धादिङ- भोटेकोशी बाढीले घरबास विहिन हुन पुगेका स्थानीयलाई तत्कालिन आवासिय व्यवस्था मिलाउन राखिएको धादिङको गजुरी गाउँपालिकाको २ वटा  होल्डिङ सेन्टरहरूसहित हालै पुनःसञ्चालनमा ल्याइएका खानेपानी आयोजनाहरूको गुणस्तर परीक्षण गरिएको छ। परीक्षणको नतिजा अनुसार ती क्षेत्रको खानेपानी ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड’ अनुरूप पूर्ण रूपमा सुरक्षित रहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभएको छ।

गत २०८३ भाद्र १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढी तथा पहिरोका कारण धादिङका विभिन्न खानेपानी आयोजनाहरूमा ठूलो क्षति पुगेको थियो। बाढी प्रभावितहरूको अल्पकालीन व्यवस्थापनका लागि गलौंदी र रातमाटेमा होल्डिङ सेन्टरहरू निर्माण गरी खानेपानी सेवा पुनःसञ्चालनमा ल्याएपछि पानीको गुणस्तरबारे परीक्षण गरिएको हो।

कार्यालय प्रमुख केसीका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनको पहलमा आवश्यक परीक्षण उपकरण तथा सामग्रीसहितको अत्याधुनिक मोबाइल वाटर क्वालिटी टेस्टिङ भ्यान धादिङमा परिचालन गरिएको थियो। उक्त मोबाइल प्रयोगशाला टोलीले होल्डिङ सेन्टर र नयाँ सञ्चालित आयोजनाहरूबाट नमुना संकलन गरी विस्तृत परीक्षण गरेको थियो।

प्रयोगशाला परीक्षणमा पानीको गुणस्तर मापदण्ड अनुरूप नै पाइएकाले खानेपानीको सुरक्षालाई लिएर अनावश्यक भ्रममा नपर्न उहाँले अनुरोध गर्नुभएको छ। तथापि, विपद्पछिको समयमा खानेपानी थप सुरक्षित बनाउन शुद्धीकरणका उपाय अपनाउन आवश्यक मानिन्छ। तसर्थ, खानेपानी आयोजनाहरूले पानी सुरक्षित रहेको पुष्टि गरे पनि बाढीपछिको स्वास्थ्य जोखिमबाट जोगिन पानीलाई राम्ररी उमालेर, क्लोरिन प्रयोग गरेर वा अन्य घरेलु शुद्धीकरणका विधिहरू अपनाएर मात्र पिउन अनुरोध गरिएको छ।