केआरआईएनको सहयोगमा आईसिडिसि-नेपालद्धारा गजुरीका बाढी प्रभावित ३०० परिवारलाई राहत सामग्री वितरण

23 पटक पढिएको

१ आश्विन २०८३, बिहीबार ०८:४३ सम्पादक: धादिङ न्यूज

धादिङ  – भाद्र १० गते आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाका ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था केआरआईएनको सहयोग तथा एकीकृत सामुदायिक विकास अभियान (आईसिडिसि-नेपाल)को सहजीकरणमा बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको हो।

राहतस्वरूप प्रत्येक परिवारलाई २५ केजी चामलका साथै नुन, तेल, दाल, चिनी र मसला लगायतका खाद्य सामग्री प्रदान गरिएको थियो। त्यसैगरी, प्रत्येक परिवारलाई एक सेट बेड आइटमका सम्पूर्ण सामग्री, आपत्कालीन प्रयोगका लागि लाइट तथा लामखुट्टे नियन्त्रणका लागि इलेक्ट्रिक ब्याट समेत वितरण गरिएको छ।

कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, केआरआईएन तथा एकीकृत सामुदायिक विकास अभियान,आसिडिसि- नेपाल  का प्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

एकीकृत सामुदायिक विकास अभियान (आईसिडिसि-नेपाल))का अध्यक्ष गोपाल लम्सालले विपद्को समयमा प्रभावित समुदायलाई तत्काल सहयोग पुर्‍याउने कार्य संस्थाको निरन्तर प्राथमिकतामा रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “एकीकृत सामुदायिक विकास अभियान (आईसिडिसि-नेपाल) ले स्थापना कालदेखि नै विपद्, संकट तथा आपत्कालीन अवस्थामा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। यसपटक पनि केआरआईएनको सहयोगमा गजुरीका बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, बेड सामग्री, आपत्कालीन लाइट र लामखुट्टे नियन्त्रणका सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सकेसम्म छिटो राहत पुर्‍याउनु हाम्रो मानवीय जिम्मेवारी हो।”

राहत सामग्री प्राप्त गरेपछि स्थानीय सीता तामाङले बाढीबाट घरमा रहेका खाद्यान्न तथा दैनिक प्रयोगका सामग्रीमा क्षति पुगेको अवस्थामा प्राप्त राहतले ठूलो सहयोग पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, “बाढी आएपछि घरमा भएको धेरै सामान बिग्रियो। यस्तो अवस्थामा चामल, दाल, तेललगायत खाद्यान्नसँगै ओढ्ने–ओछ्याउने सामान र लाइट पनि पाउँदा निकै खुसी लागेको छ। सहयोग गर्ने संस्था र सहजीकरण गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।”

अध्यक्ष लम्सालले राहत वितरणसँगै विपद्बाट प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन आवश्यकतामा समेत सहकार्य र सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो। उहाँले विपद्को समयमा स्थानीय तह, सहयोगी संस्था र समुदायबीचको सहकार्यले प्रभावित परिवारलाई छिटो राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

बाढीका कारण प्रभावित परिवारलाई तत्कालको आवश्यकता पूरा गर्न राहत सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ।