धादिङसहित २४ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन आग्रह
8 पटक पढिएको
धादिङ- देशका विभिन्न २४ जिल्लाका साना नदी तथा खोलाहरूमा आज बिहीबार बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाहरूबाट बहने साना नदी तथा खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ।
वर्षा तथा मौसममा आएको फेरबदलका कारण यी क्षेत्रका साना खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। यसबाट नदी किनारका बस्ती, आवातजावत गर्ने बाटाहरू तथा आसपासका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्क रहन अपिल गरिएको छ।
जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई नदी किनारको आवतजावतमा सावधानी अपनाउन, माछा मार्न वा नदी तटीय क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र आपतकालीन सेवाका निर्देशनहरू पालना गर्न अनुरोध गरिएको छ।







