भोटेकोशी बाढीमा बेपत्ता धादिङ थांक्रे–१ का बाबु-छोराको कुशको शव बनाएर दाहसंस्कार

81 पटक पढिएको

४ आश्विन २०८३, आईतवार २१:१३ सम्पादक: धादिङ न्यूज

धादिङ – भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले जीवनका धेरै रङ्हरू र खुसीहरूलाई सधैँका लागि बगाएर लग्यो, जसको गहिरो घाउ अझै पनि सुकेको छैन। प्रकृतिले कतिसम्म क्रूर खेल खेल्यो भने, रसुवाको टिमुरेबाट बेपत्ता भएका धादिङको थांक्रे गाउँपालिका वडा नं. १ का ५२ वर्षीय विष्णु बहादुर थापा र उनका २५ वर्षीय युवा छोरा सुदिप थापाको २५ दिन बितिसक्दा पनि न त सास भेटियो, न त लास नै। घटना भएको दिन उनीहरू टिमुरे भन्सार क्षेत्रबाट ‘ना ६ ख ४७४८’ नम्बरको डब्बा गाडीसहित अचानक सम्पर्कविहीन भएका थिए। आफ्ना प्रिय मान्छेहरू सकुशल फर्किएर आउने आशामा २५ दिनसम्म आँखामा आँसु र मुटुमा भारी बोकेर बसेको थापा परिवारको पीडा शब्दमा वर्णन गर्नै सकिंदैन।

दिनहरू बित्दै जाँदा, राज्यका संयन्त्र र परिवारले अनवरत रूपमा खोजतलास जारी राखे पनि कतैबाट पनि कुनै किसिमको सकारात्मक संकेत वा सुराक फेला परेन। जतिजति दिनहरू ढल्किँदै गए, उनीहरू जीवितै भेटिने क्षीण आशा पनि क्रमशः मर्दै गयो। खोज्दा खोज्दा थाकेको मन र रित्तिएको छाती लिएर अन्ततः परिवारले जीवनको सबैभन्दा कठिन र मर्माहत निर्णय गर्न बाध्य हुनुपऱ्यो। आफ्ना प्रियजनको भौतिक शरीरसमेत हेर्न नपाएपछि उनीहरूले शास्त्रीय तथा हिन्दू सनातन परम्परालाई अङ्गाल्दै कुशको प्रतीकात्मक शव तयार पारे।

प्राकृतिक विपद्, बाढीपहिरो वा ठूला दुर्घटनाहरूमा परी दुर्घटनास्थलमा शव फेला नपरेको अवस्थामा धर्मशास्त्र र परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्ने चलन रहिआएको छ। सोही विधिलाई आत्मसात गर्दै गएको २०८३ असोज ४ गते धादिङको थाक्रे–१ स्थित सत्तिखोला दोभानको अस्थायी घाट सतिरुम्टा (सतिढाड) मा उनीहरूको दाहसंस्कार सम्पन्न गरियो। आफ्नै आँखैले अन्तिम पटक हेर्न, छुन र अन्तिम बिदाइ गर्नसमेत नपाएको यो हृदयविदारक यथार्थले परिवारका सदस्यहरूलाई विक्षिप्त बनाएको छ। घाटमा कुशको शव जलाउँदाको त्यो पल परिवारका लागि मात्र होइन, त्यहाँ उपस्थित जो कोहीको पनि मुटु च्यातिने किसिमको थियो।

अन्त्येष्टि कर्म पश्चात् थापा परिवारले विधिवत् रूपमा काजकिरिया सुरु गरेको छ।  विष्णु बहादुरका जेठा छोरा रोजितले आफ्ना बुबाको र काका हजुरबुबा तोरण बहादुर थापाले  नाति सुदिपको क्रिया बसेका छन्।