बाढीले क्षति पुगेको बैरेनी अस्पतालमा खानेपानी र सरसफाइ सुविधा पुनः सञ्चालनमा
34 पटक पढिएको
धादिङ- भदौ १० को बाढीका कारण क्षति पुगेको धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालको खानेपानी आपूर्ति र सरसफाइको व्यवस्था सुचारु भएको छ।
भदौ १० मा त्रिशूली नदीमा आएको बाढीले अस्पताल भवनको भुइँतला डुबाएपछि खानेपानीको हाहाकार मच्चिएको थियो भने शौचालय प्रयोग गर्न नपाउँदा सेवाग्राही र बिरामीहरू निकै मारमा परेका थिए। दैनिक रूपमा आउने डेढदेखि दुई सयसम्म सेवाग्राही र कर्मचारीहरूका लागि यो समस्या जटिल बनेको थियो।
यस जटिल अवस्थालाई हटाउन स्थानीय सरकार र दातृ निकायबीचको सहकार्यले महत्त्वपूर्ण भूमिका खेलेको छ। गल्छी गाउँपालिकाले दुई सय मिटर पाइप उपलब्ध गराएको थियो भने शान्ति नेपाल र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा शक्तिशाली मोटर जडान गरी खानेपानीको नयाँ अस्थायी प्रणाली जडान गरिएको छ । बाढीले असर पुर्याएको इनारलाई पूर्ण रूपमा सफा गरेर नयाँ रिङ हालेपछि अस्पताल परिसरमा पानीको सुविधा पुगेको हो ।
यसैबीच, बाढी पसेर लेदो भरिएका अस्पतालका शौचालयका सेफ्टी ट्यांकीहरू पनि खाली गराएर प्रयोगयोग्य बनाइएको छ। इनारको मर्मत र ट्यांकी सफाइ भएपछि अहिले अस्पतालको सेवा प्रवाहमा ठूलै राहत मिलेको अस्पतालका प्रमुख डाक्टर मधुकर दाहालले खुसी व्यक्त गर्नुभएको छ। यस कार्यले विपद्को समयमा पनि स्वास्थ्य सेवा नरोकियोस् भन्ने सुनिश्चित गर्न ठूलो सहयोग पुगेको छ।







