बाढीले अवरुद्ध बैरेनी बजारको खानेपानी सेवा पुनःसञ्चालन, ५५० भन्दा बढी लाभान्वित

10 पटक पढिएको

४ आश्विन २०८३, आईतवार ११:४६ सम्पादक: धादिङ न्यूज

धादिङ- भोटेकोशी बाढीका कारण  वन्द हुन पुगेको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी बजारको खानेपानी आपूर्ति सेवा पुनः सुचारु भएको छ। गत भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेको पाइपलाइनको क्रसिङ बगाएपछि र जुगे खोला मुहानबाट आउने खानेपानी अवरुद्ध हुँदा बैरेनी बजारमा खानेपानीको चरम हाहाकार मच्चिएको थियो। यस संकटलाई समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन, युनिसेफ नेपाल र शान्ति नेपालको संयुक्त तथा द्रुत प्रयासले नयाँ जीवन पाएको हो ।

आपत्कालीन पुनःस्थापनाका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनले ९०, ७५ र ६३ मिलिमिटर व्यासका १७ सय मिटरभन्दा बढी एचडीपीई पाइप उपलब्ध गराएको थियो। त्रिशूली पुलको मद्दतले नदी पार गराएर नयाँ पाइपलाइन जोडिँदा यो कार्य संभव भएको कार्यालय प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभयो। बाढीले पानी लिफ्टिङ गर्ने मुख्य ट्याङ्की बालुवा र माटोले पूरै थुनेपछि प्राविधिकहरूले वैकल्पिक उपाय अपनाएका छन्। हाल दुईवटा पोलिथिन ट्याङ्कीमा दुई हर्सपावर क्षमताका समर्सिबल पम्प जडान गरी पानी तानेर पुरानै वितरण प्रणालीमार्फत घरघरमा पानी पठाइएको छ।

यस वैकल्पिक प्रणालीबाट प्रतिसेकेण्ड डेढदेखि दुई लिटरसम्म पानी लिफ्ट गरी अहिले बैरेनी बजारका करिब दुई सय घरधुरीमा नियमित पानी वितरण भइरहेको छ। यसका साथै, यस पुनःस्थापना कार्यले गल्छी गाउँपालिका–६ मा अवस्थित नेपाली सेनाको बाहिनीमा समेत खानेपानी आपूर्ति सुचारु भएको छ, जसबाट त्यहाँ कार्यरत तीन सय पचासभन्दा बढी सैनिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

यस परियोजनालाई अझ अत्याधुनिक बनाउन युनिसेफ नेपाल र शान्ति नेपालको आर्थिक तथा प्राविधिक सहकार्यमा नेपाली सेनाको क्याम्प परिसरमा मोबाइल फोनबाटै पम्प अन र अफ गर्न मिल्ने विशेष अटोमेसन प्रणाली समेत जडान गरिएको छ। यस किसिमको प्रविधिले खानेपानी वितरणलाई थप सहज र व्यवस्थित बनाउनुका साथै विपद्का बेला गरिएको यो सामूहिक प्रयासले स्थानीय बासिन्दा र सुरक्षाकर्मीलाई ठूलै राहत प्रदान गरेको छ।