प्रधानमन्त्री शाह आज अमेरिका जाँदै
49 पटक पढिएको
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। उनले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
प्रधानमन्त्री शाह आज अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका अधिकारीको समेत सहभागिता रहनेछ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कनेछन्। यो उनको पहिलो विदेश भ्रमणसमेत हो।







