सदरमुकाम धादिङबेसी जोड्ने वैकल्पिक मार्गको अमनटारमा आइचर दुर्घटना
92 पटक पढिएको
धादिङ, ७ असोज – धादिङबेसीबाट पृथ्वी राजमार्ग जोड्ने परेवाटार-मास्टार सडक खण्डअन्तर्गत अमनटार बालुवाखानी मोडमा मालवाहक आइचर दुर्घटना भएको छ।
नारायणगढबाट तोरी लिएर धादिङबेसीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६–ख २८७८ नम्बरको आइचर सडकमै पल्टिएको हो। दुर्घटनामा परी सवारी चालक सामान्य घाइते भएका छन्।
स्थानीय राजाराम खतिवडाका अनुसार उकालो र सडकमा रहेका खाल्डाखुल्डीका कारण गाडीले लोड तान्न नसकी ब्याक भएर दुर्घटना भएको हो। वैकल्पिक मार्गको रूपमा अघि सारिएको यस सडकको अवस्था अति नै जीर्ण रहेकाले तत्काल स्तरीय मर्मत हुनुपर्ने स्थानीयको माग छ।
भदौ १० गतेको बाढीले फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि सदरमुकाम जोड्ने वैकल्पिक मार्गको रूपमा यो सडक प्रयोग हुँदै आएको छ। तर, सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्ग भनिए पनि सडकको मर्मतसम्भारमा सम्बन्धित निकायको खासै ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।
बाढीपछि सडक विभागले केही स्थानमा मर्मत गरे पनि धेरैजसो खण्डमा अझै पनि निर्वाध रूपमा सवारीसाधन गुडाउन सकिने अवस्था नरहेको चालकहरूको भनाइ छ। सडक साँघुरो, उकालो र खाल्डाखुल्डीयुक्त भएका कारण ठूला सवारीसाधन आवतजावतमा ठूलो जोखिम बढेको छ।
आज सामान्य दुर्घटना भए पनि सडक समयमै सुधार नभए ठूलै दुर्घटना हुन सक्ने भन्दै स्थानीयहरूले तत्काल यसको स्तरीकरण र मर्मतका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।







