नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवालसहित पाँच पत्रकारलाई हेम–सुनिल पुरस्कार
66 पटक पढिएको
काठमाण्डौं । यो वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवालसहित पाँच पत्रकारले पाएका छन्।पुरस्कारको राशी एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।
नेपाल टेलिभिजनमा आयोजित एक समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उहाँहरूलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
यस वर्ष विसं २०८२ साल भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गर्ने हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अर्याल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरापर्सन श्याम श्रेष्ठ पनि यो पुरस्कारबाट सम्मानित हुनुभएको छ। त्यस्तै, जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जिर सिंह विकलाई यो पुरस्कार प्रदान गरिएको हो।
भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिने यो पुरस्कार हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विसं २०६४ देखि हरेक वर्ष असोज ७ गते प्रदान गर्दै आएको छ। विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा वातावरणविद् तथा अन्य विशिष्ट व्यक्तित्वसँगै समाचार सङ्कलनका लागि त्यस क्षेत्रमा पुग्नुभएका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको निधन भएको थियो।







