नेपाली कांग्रेस धादिङको अधिवेशन: ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन, अन्य पालिकामा सहमति र मतदानको तयारी
201 पटक पढिएको
धादिङ: नेपाली कांग्रेस धादिङको जारी गाउँपालिका अधिवेशन अन्तर्गत हालसम्म ५ वटा पालिकामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सभापतिमा देवी कुमारी बुर्लाकोटी पाण्डे र थाक्रे गाउँपालिकाको सभापतिमा सादुराम थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यसअघि सिद्दलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई र गंगाजमुनामा भरत बहादुर ढकाल सर्वसम्मत भइसकेका छन्। नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार यी पालिकाहरूमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पालिकासहित अन्य क्षेत्रहरूमा पनि सर्वसम्मतिको प्रयास भइरहेको छ।
केहीपालिकाहरूमा भने सहमति नजुग्दा नेतृत्व चयन प्रक्रिया प्रभावित भएको छ। धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धुनिबेसी, गल्छी र गजुरी गाउँपालिकाको अधिवेशन साँझसम्म पनि सहमति हुन नसकेपछि आगामी असोज ११ गतेसम्मका लागि स्थगित गरिएको कांग्रेस १ नं. क्षेत्रीय सभापति कुमार सिंखडाले जानकारी दिनुभएको छ। उहाँका अनुसार वर्षातको कारण देखाउँदै अधिवेशन केही समयका लागि सारिएको हो।
यता, नीलकण्ठ र ज्वालामुखी गाउँपालिकामा भने नेतृत्वका लागि धेरै जनाको दाबी रहेको र आकांक्षी उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत मत माग्न थालेकाले मतदान हुने सम्भावना प्रवल देखिएको छ। सभापतिमा धेरैको दाबी र आन्तरिक प्रतिस्पर्धाका कारण निर्णय लिन समय लागेको बुझिएको छ।
बाँकी रहेका अन्य पालिकाहरूको नेतृत्व पनि यथाशीघ्र टुंगो लगाउने गरी छलफल भइरहेको र सहमति नभएका स्थानमा लोकतान्त्रिक प्रक्रिया अनुसार मतदानबाट टुंग्याइने कांग्रेस धादिङले जनाएको छ।







