त्रिशूली कटानले धादिङबेसी जोडने वैकल्पिक मार्ग नै संकटमा
66 पटक पढिएको
धादिङ, १ १ भदौ (धादिङ न्यूज) – गत भदौ १० गतेको बाढीले त्रिशूली नदी तर्ने फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेसीको सिधा यातायात सम्पर्क अझै नियमित हुन सकेको छैन। पुल बगाएपछि यातायात ठप्प हुँदा यस क्षेत्रका हजारौं नागरिकले दैनिक आवतजावत तथा ढुवानीमा सास्ती भोगिरहेका छन्।
सदरमुकामबाट पृथ्वी राजमार्गतिर निस्कन र राजमार्गबाट सदरमुकाम पुग्न अहिले गल्छी गाउँपालिका वडा नं. ४ मास्टारबाट त्रिशूली नदी तरेर वैकल्पिक कच्ची सडक सञ्चालनमा ल्याइएको छ।
यो वैकल्पिक मार्गअन्तर्गत मास्टार–केउरिनीटार–बेलिनिटार–आदमटार–पिपलटार–गजुरीटार–माझिटार–नेपालटार–खरमटार हुँदै परेवाटार निस्कने सडक प्रयोग भइरहेको छ। तर, यो सडक साँघुरो, हिलो र जोखिमपूर्ण भएकाले यस खण्डमा सवारी साधनहरू निर्वाध रूपमा चल्न सकेका छैनन्। बिरामी बोकेका एम्बुलेन्ससमेत बाटोमै रोकिनुपर्ने बाध्यता रहेको छ।
विकल्पको रूपमा रहेको यसै सडकको परेवटार र खरमटारको बीचमा पर्ने दारेगौंडा भन्ने स्थानमा सडकमुनिको भाग त्रिशूली नदीको तीव्र कटानमा पर्न थालेको छ।
नदीले कटान गरेसँगै त्यहाँबाट पहिरो खस्न थालेको छ। सडकको माथिपट्टि पहरो र त्यसमाथि सिँचाइको नहर रहेको तथा तलतिर भिरमा नदीले कटान गरिरहेकोले यो वैकल्पिक मार्गसमेत जुनसुकै बेला अवरुद्ध हुन सक्ने खतरा बढेको छ। भदौ १० गतेपछि त्रिशूली नदीको बहाव निरन्तर घटबढ भइरहेका कारण नदी किनारका धेरै ठाउँमा कटान तीव्र बनेको छ।
पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीय बासिन्दाहरू अब वैकल्पिक सडक पनि जोखिममा पर्ने हो कि भन्ने त्रासमा बाँचिरहेका छन्। दारेगौंडा क्षेत्रमा भइरहेको कटानलाई तत्काल नियन्त्रण गर्न तटबन्ध निर्माण को सम्भावना समेत छैन । नदीमा पानीको वहाब नघटी यहाँ तटवन्ध निर्माण गर्न सम्भव नभएको हो । नदीले कटान गर्दै जानेक्रममा बढेमा वैकल्पिक मार्ग सडक सञ्जालमा विच्छेद हुने खतरा छ।








https://addlinks.pro/szbyR